सुशिला रेग्मी /
शित भण्डार चालु भएपछि कृषक औधी खुशी भए । आलु भण्डारण गर्न रामपुर देखि भैरहवा, स्याङ्गजाको जिमुवा लगायतका स्थानमा कृषकलाई धाउनु परेन । यसैले पनि कृषक खुशी नहुने कुरै भएन । जसोतसो ढिलै भएपनि पाल्पाकै ठूलो रामपुरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण भई प्रयोगमा ल्याइयो । कृषक उत्साहित हुदै खेतबारीमा उत्पादन भएको आलु भण्डारण गर्न थाले ।
भण्डारणको समयमा जति धेरै उत्साहित थिए कृषक अहिले भने निरुत्साहित भएका छन् । आलु उम्रने, बिग्रने समस्याले उनीहरु चिन्तित बनेका छन् । रामपुर ७ बस्ने यमकान्ती गौतमले करिव रु दश लाख बराबरको उन्नत वीउ आलु भण्डारण गर्नुभएको छ । स्थानीय सरकारले शित भण्डार परिक्षण बिना नै आलु भण्डारण गर्न हौसाउँदा कृषक मारमा परेको उहाँ गुनासो गर्नुहुन्छ ।
“उन्नत जातको वीउ आलु टुसाउने, बिग्रने भएको छ, अघिल्ला वर्षमा सधै भैरहवा लगेर भण्डारण गरिन्थ्यो, अहिले गाउँमै बनेको चिस्यान केन्द्रमा आलु राखेको नराम्रो संग फसियो” उहाँले दुखेसो पोख्नुभयो । वीउका लागि करिव १३० बोरा आलु शित भण्डारमा राख्नुभएको छ । उहाँले रु ३६ हजार ४०० रकम भण्डारण खर्च तिर्नुभएको छ । वर्षेनी वीउ आलु बेचेर रु पाँच देखि सात लाख आम्दानी गर्ने उहाँ यस पटक भने शित भण्डार व्यवस्थापनको लापरबाहीले बज्रपात पारेको छ ।
खानका लागि शित भण्डारबाट घरमा झिकेर ल्याइएको आलु उम्रेर लामा–लामा टुसा पलाएको देख्दा रामपुर ६ तालपोखरा बस्ने मित्रा ढकाललाई नमज्जा लाग्यो । उहाँले रामपुर नगरपालिका वडा नं ६ को कार्यालयको आलु प्रवद्र्धन कार्यक्रम अन्र्तगत व्यावसायीक आलु उत्पादन गर्नुभएको हो । “शित भण्डारबाट झिकेर ल्याएको आलु खाल्डोबाट झिकेजस्तो छ, प्रतिकिलो रु ३० मा घरमै आलु खरिद गर्न आउँदा शित भण्डारमा राख्नुपर्छ भनेर हामीलाई आलु अन्यत्र बिक्रि गर्न दिइएन, आलु बिग्रियो अब सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्छ” उहाँले गुनासो पोख्नुभयो । ढकालले दश बोरा खायन र वीउ आलु भण्डारण गर्नुभएको छ ।
रामपुर ५ बेझाड बस्ने मैना श्रेष्ठले दशै तिहार पर्वमा प्रयोग गर्न कृषकबाट खरिद गरेको तीन बोरा आलु भण्डारण गर्नुभयो । तर अहिले आलु उम्रेको देख्दा उहाँको लगानी सबै खेर गएको छ । चाडपर्वमा बजार भाउ महंगो, कहिलेकाँही महंगो शुल्कमा खरिद गर्छु भन्दा पनि नपाइने समस्याले स्थानीय कृषकसंग आलु खरिद गरी चाडपर्वमा प्रयोग गर्न सुरक्षित रुपमा शित भण्डारमा राखेको आलु खान लायकको नभएको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ “पुरै टुसा पलाएर खान हुने खालको छैन, कोही कुहेको छ त कोही दबिएजस्तो खालको छ, आलु खरिद, शित भण्डारण शुल्क सबै खेर गयो” । त्यस्तै रामपुर ३ का वडा अध्यक्ष दिनेशकुमार खनालले गाउँका अन्य कृषकलाई प्रोत्साहन गर्न ४७ बोरा वीउ आलु भण्डारण गरेको बताउनुहुन्छ । आलु बोराबाटै बाहिर लामा लामा टुसा पलाएको देख्दा उहाँ चिन्तित हुनुहुन्छ ।
शित भण्डारमा प्राबिधिक व्यवस्थापनको तालमेल नहुदा वीउका लागि भण्डारण गरिएको १०३ बोरा आलु खेर जाने स्थिती सिर्जना भएको लेखनाथ रेग्मी बताउनुहुन्छ । यहाँको शित भण्डारमा करिव एक हजार चार सय क्वीण्टल आलु राखिएको छ । गत वैशाख दोस्रो र तेस्रो सातामा आलु भण्डारण गरियो । शित भण्डार निर्माणको ढिलाईका कारण उपयुक्त समयमा आलु भण्डारण नहुदा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो । “फागुनमा खनेको आलु वैशाख दोस्रो सातामा मात्रै भण्डारण गरियो, समयमा नै भवन बनेन, तापक्रम व्यवस्थापन नुहुन, कृषकले ल्याउँदा नै केहीको आलु उम्रिसकेको थियो” शाखा प्रमुख पाण्डेयले भन्नुभयो ।
नगरपालिकाले शित भण्डार सञ्चालनका लागि टेण्डरमार्फत रम्भा गाउँपालिका १ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरी प्रयोगमा ल्याइएको हो । शित भण्डार पहिलो वर्ष प्रयोगमा ल्याउँदा प्राबिधिक तालमेल नमिलेकाले समस्या भएको रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ । “भण्डारण कक्षभित्र हावा नखेलेको ठाउँको आलु उम्रिएको छ, हावा खेलेको ठाउँमा बिग्रिएको छैन, आलु खानयोग्य छैन, वीउको लागि प्रयोगमा पनि आउँदैन पुरै कुहिएर बिग्रिएको छ भने त्यसको सम्बन्धित पक्षबाट व्यवस्थापन हुनेछ” उहाँले भन्नुभयो ।
रामपुर नगरपालिकामा मात्रै गत आर्थिक वर्षमा आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले पनि धेरै आलु उत्पादन भएको छ । नगरभित्र करिव पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको छ । यहाँ उत्पादन भएको आलु बेमौसमीयाममा महंगो मुल्यमा बिक्रि गर्न सुरक्षित तरिकाले भण्डारण गरिएको थियो । बिडम्बना परिस्थिती ठिक विपरित भइदिएको छ । कृषि उपज भण्डारण गर्न प्रतिकिलो रु छ शुल्क कायम गरिएको छ ।
रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले संयुक्त रुपमा रु तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो । फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । दुईतले दश कोठा सहितको प्रशासनिक भवन, अपाङ्गमैत्री शौचालय छ । दुई कोठामा आलु भण्डारण गरिएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा लुम्बिनी प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरे अनुसार रामपुर नगरपालिकाले पनि प्रस्ताव पेश गरेको थियो । सोही अनुरुप छनौट भई नगरपालिका संग सम्झौता गरी नगरपालिकाले आफ्नै लगानीमा डिपिआर तयार पारेर शित भण्डार निर्माण गरी प्रयोगमा आएको छ ।