प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन शुरु भएको छ । गोदावरी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा सुरु भएको एमालेको विधान महाधिवेशनमा देशभरबाट ६ हजार बढी प्रतिनीधि सहभागि छन् । तीन दिनसम्म चल्ने विधान महाधिवेशनको उद्घाटन पश्चात पहिलो दिन अध्यक्ष केपि ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरिएको छ ।
शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित एमालेले जनाएको छ । पार्टीको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा तय गरिएको छ । माओवादीसंगको एकता बदरभई पार्टी पूर्ववत रुपमा फकिएको र सोही विवादसंगै पार्टी फूटेको तथा पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म संसद विघटन गरेको र विघटित संसदलाई सर्वोच्च अदालतले व्युँताइदिएको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
विधान महाधिवेशनमा यस अगाडि पार्टीको नेतृत्व गरेका नेताहरु भने छैनन् । विगतमा जस्तो महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको तस्वीर राख्ने गरेको थियो । मञ्चको विचमा पार्टीको चुनाव चिन्ह सूर्य र दायाँ बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ । यद्यपी विधान महाधिवेशन परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।