कपिलवस्तुमा याे वर्ष धानकाे उत्पादन बढ्ने

873

कपिलवस्तुमा याे वर्ष धानकाे उत्पादन बढ्ने


बसन्ता भुसाल /

कपिलबस्तुमा यस वर्ष धान उत्पादनमा बृद्धि हुने भएको छ । धेरै ठाउँमा धान पाक्न थालेको छ । केही ठाउँमा किसानले काट्न पनि सुरु गरेका छन् । धान वालीको अवस्था हेर्दा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन ७ प्रतिसत बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख रविन्द्रनाथ चौबेले बताउनुभयो ।
यो वर्ष धेरै ठाँउमा सिचाईको पहुँच पुग्नु, धेरै वर्षा हुनु, समयमा उपलब्ध हुनु, बालीमा रोगव्याधी कम लागेका कारण उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।
यति वेला कपिलवस्तुुको वाणगंगा, तौलिहवा, गजेहडा, जहदी, चन्द्रौटा, राजपुर, जगदिशपुर लगायतका ठाउँमा लटरम्म पहेलपुरे धान पाकेका छ । धान राम्रो फलेकोमा किसानहरु खुशी भएका छन् । पर्याप्त वर्ष हुँदा यो वर्ष धान राम्रो फलेको वाणगंगा नगरपालिका वडा नम्बर ७ कि सीता गुरुङले बताउनुभयो । “अघिल्लो वर्ष रोप्ने बेलामा दुख भएको थियो र धान पनि त्यति राम्रो भएको थिएन ।’’ उहाँले भन्नुभयो “यो वर्ष भने बेलैमा पानी पर्यो असारको पहिलो हप्ता नै रोपाइ गरेर सकियो । अहिले धान पनि राम्रो फलेको छ।’’ “यस्तै वडा नम्बर ८ धनेसपुर निवासी बसन्ता पान्डे पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष धान राम्रो भएको बताउनुभयो”
मध्य असोज पार भएर दसैं नजिकिएका बेला किसानहरुलाई धान काट्ने चटारो छ । जिल्लामा हालसम्म २ प्रतिशत जति ठाउँमा धान काट्ने काम कृषि ज्ञान केन्द्रका प्रमुख चौवेले जानकारी दिनुभयो । छिटो पाक्ने धान अहिले काट्ने काम भईरहेको उहाँको भनाई छ ।
गत वर्ष जिल्लामा ७१ हजार २०० सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो भने यो वर्ष ७१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सावित्री, रामधान, लगायतका सुख्खा जातका धान एक दुई स्थानमा लगाइएको छ । बढी मात्रामा हाइब्रेट,काला नमक,चौसट्ठी–चौवालिस र सावा मन्सुली जस्ता धान किसानले लगाएका छन् । धान राम्रो फलेपनि बजार भाउ नपाउने हो कि भन्ने किसानहरूको चिन्ता छ । ‘मेहनत र खर्च गरेर धान लगायो। गत वर्ष बेच्नको लागि राम्रो मुल्य नै पाइन्थेन । यो वर्ष खै के हुने हो।’ कृषक सीता गुरुङले भन्नुभयो।