के हो मोतिपुर औद्योगिक क्षेत्रको विवाद ?

918

के हो मोतिपुर औद्योगिक क्षेत्रको विवाद ?

कबिन्द्र नेपाल /

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सिलान्याससंगै त्यसमा विवाद सिर्जना भएको छ । औद्योगिक क्षेत्र सिलान्यासका क्रममा स्थानीयको अवरोध तथा ढुंगामुढाका कारण तत्कालिन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्ट कार्यक्रम छाडेर भाग्नु परेको थियो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नंं १७ र १८ तथा तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाको नदी उकास क्षेत्रको ८१३ बिघामा औद्योगिक क्षेत्र बनाउने गरी जग्गाको भोगाधिकार र स्वामित्व औद्योगिक क्षेत्रको नाममा बनेको छ । त्यसमध्ये करिव २ सय विगाहा जमिन स्थानीयले भोगाधिकार गर्दै आएको स्थानीय बताउँछन् । उनीहरुले आफूहरुलाई वैकल्पिक व्यबस्थापन गरेर मात्रै औद्योगिक क्षेत्रको काम अगाडि बढाउनु पर्ने बताउँदै आएका छन् ।
गत पुस ५ गते प्रतिनीधि सभा (संसद) विघटन गरेका प्रधामन्त्री केपि शर्मा ओलीको सरकारले पूर्व तयारी विनै थुप्रै आयोजना हतारमा सिलान्यास गरेको थियो । त्यसमध्ये मोतिपुर औद्योगिक क्षेत्र पनि हो । गत फागुन २१ मा हतारमा सिलान्यास कार्यक्रम गर्न पुगेका तत्कालिन अर्थमन्त्री पौडेल र उद्योग मन्त्री भट्ट स्थानीयको विरोधका कारण कार्यक्रम नै छाडेर भाग्नु परेको थियो ।
त्यहि विवादका कारण औद्योगिक क्षेत्र सिलान्यास भएपनि निर्माणको काम भने अगाडि बढ्न सकेन, बरु जग्गा अतिक्रमण गर्ने क्रम अझै बढेर गयो । जग्गा अतिक्रमण गर्नेहरु संगठित रुपमै लाग्न थाले । करिव ८ अर्व रुपैंया लागत अनुमान गरिएको उक्त औद्योगिक क्षेत्र सिलान्यास भएको एक महिना भित्रै उद्योग स्थापनाको लागि आसय पत्र आह्वान भईसकेको हुनुपर्ने थियो । जग्गा विवादका कारण औद्योगिक क्षेत्र नै अन्योलमा परेको छ ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अहिले पूर्वदेखि पश्चिमका मान्छेहरु आएर जग्गा अतिक्रमण गरिरहेको बुझिएको छ । पहिलेदेखि बस्दै आएका थोरै थिए तर जग्गा विवादसंगै अहिले त्यहाँका जग्गा कब्जा गर्नेहरु धेरै भईसकेका छन् । स्थानीयको मागलाई समयमै सम्बोधन नगरेका कारण अहिले समस्या झन झन् बढ्दै गएको छ । अहिले उक्त औद्योगिक क्षेत्रमा प्रहरीले हटाउने र उनीहरुले टहरा लगाउने काम भईरहेको थियो । आईतबार टहरा हटाउन गएको प्रहरीमाथि आक्रमण भएपछि दोहोरो झडप भएको थियो । प्रहरी माथि ढुंगा मुढा प्रहार भएपनि प्रहरीले गोली चलाएको थियो । झडपमा परेर ४ जनाको ज्यान समेत गयो ।

मोतिपुर औद्योगिक क्षेत्र कसरी सुरु भयो ?

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष उद्योगी नवराज श्रेष्ठ यसको परिकल्पनाकार हुनुहुन्छ । उद्योग स्थापना गर्न अव जग्गाको समस्या हुन्छ, जग्गा जमिन महंगो हुँदै गयो, तिनाउ नदिको उकास क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन सकियो भने उद्योग राख्न पनि मिल्ने, मुलुकको औद्योगिक बिकासमा पनि योगदान हुने र त्यसैका माध्यमबाट अर्थतन्त्र पनि सुढृण गर्न सकिन्छ भन्ने कुरालाई उहाँले पैरवी गर्न थाल्नुभयो ।
पूर्व अध्यक्ष श्रेष्ठको परिकल्पनालाई बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले स्वामित्व ग्रहण गर्यो र संगसंगै संघले पहल तथा पैरवी सुरु गर्यो । संघकै पहलमा तत्कालिन मोतिपुर गा.बि.ससंग २०६९ साल चैत्र १ गते प्रस्ताबित मोतिपुर औधोगिक क्षेत्र स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भयो भने औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा २३८ बिघा क्षेत्रफलको जग्गाको स्वामित्व प्राप्त भयो ।
त्यस्तै नेपाल सरकारले मोतिपुर औद्योगिक क्षेत्रको स्वामित्व ग्रहण गरि सात वटै प्रदेशमा १ हजार विगाहा क्षेत्रफलको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको लागि आर्थिक वर्ष २०७३/०७४ मा बजेट समेत विनियोजन गरेको थियो । तत्कालिन मोतिपुर, फर्साटिकर, अमुवा, टिकुलीगढ र आनन्दवन गा.बि.स.मा करिब ८१४ बिगाहा जग्गा नेपाल औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा प्राप्त भएको थियो ।