“मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणमा स्थानीयको सहभागिता छैन”

833

“मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणमा स्थानीयको सहभागिता छैन”

बुटवल १७ रानीगंजमा औद्योगिक क्षेत्रका लागि छुट्याइएको जग्गा अतिक्रमणमा स्थानीय बासिन्दा र राजनीतिक दलहरुको संलग्नता नभएको बताइएको छ । नेपाल पत्रकार महासंघ रूपन्देहीको नेतृत्वमा वास्तविकता अध्ययनको लागि सोमबार गएको पत्रकारहरुसँगको छलफलमा स्थानीय बासी, राजनीतिक दलका अगुवा तथा बुटवल १७ का वडा अध्यक्ष लगाएतले सो कुरा बताएका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १७ र १८ नम्बर वडा, सुद्दोधन र सियारी गाउँपालिकाको पूर्वी तिनाउ नदी उकासको क्षेत्रलाई सरकारले औद्योगिक क्षेत्र बनाउने गरि रानिगंजमा सिलान्यास समेत गरिसकेको छ । सिलान्यासका बेला केही स्थानीयले आफूहरुले भोगचलन गरिरहेको जग्गाको मुआब्जा पाउनुपर्ने भन्दै आन्दोलन गरेर सिलान्यास गर्न आएका तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई लखेटेका थिए ।
सिलान्यासमा विवाद भएपछि सरकार र स्थानीयको बीचमा सहमति भई औद्योगिक क्षेत्रको काममा अवरोध नगर्ने सहमति समेत भएको थियो । पछिल्लो समय करिव एक महिनादेखि औद्योगिक क्षेत्रमा पर्ने जग्गामा घर टहरा निर्माण गरी खाली जग्गा अतिक्रमण गर्ने क्रम बढेपछि सुरक्षा निकाय र अतिक्रमणकारी बिच टहरा बनाउने र प्रहरीले हटाउने क्रममा दोहोरो झडप समेत हुँदै आएको थियो । यसैक्रममा आइतबारको झडपमा परी ४ जनाको निधन भएको छ भने सुरक्षाकर्मी र अतिक्रमणकारी गरी ७३ जना घाइते भएका थिए । स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा लगाएको छ । बुटवल बजारबाट नजिकैको मोतिपुर रानीगंजका बासिन्दाहरूले औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणमा आफूहरु अनविज्ञ रहेको तर प्रशासन र मिडियाबाट स्थानीय बासिन्दाको सहभागिता छ भन्ने आशंका गरिएकोमा आफूहरुको गम्भिर आपत्ति र गुनासो रहेको बताएका छन् । वडा अध्यक्ष सन्तबहादुर रानाका अनुसार कहाबाट कसरीको आएर यस्तो वितण्डा मच्चाएका छन् ? त्यस विषयमा आफूहरुले खोजिरहेको र स्थानीय राजनीतिक दल तथा बासिन्दाको सहभागिता देखिएको छैन ।
“यहाका टोल संस्थाका मानिसहरूसँग मिलेर अतिक्रमण गर्न खोज्नेलाई बेला बेलामा लखेटेको तर अहिले एक्कासी हजारौंको संख्यामा आएर अतिक्रमण गर्न खोजी रहेका छन् वडा अध्यक्ष रानाले भन्नुभयो ।
अध्यक्ष रानाका अनुसार अतिक्रमण गर्न खोज्नेलाई सम्झाउने बुझाउने गरिरहेको भएपनि अहिले स्थिती नियन्त्रण भन्दा बाहिर गएको छ ।
नेपाली काँग्रेस नेता तथा साविक मोतिपुर गाविस अध्यक्ष भीमप्रसाद न्यौपानेका अनुसार औद्योगिक क्षेत्रको सिलान्यासका बेलाको स्थानीयले उठाएको मागमा सहमति भइसकेकोले अहिलेको अतिक्रमण गर्ने कार्यमा स्थानीय बासिन्दा र राजनीतिक दलहरुको कुनै सहभागिता छैन । “हामी औद्योगिक क्षेत्र बन्नुपर्छ भन्ने पक्षमा छौं, अतिक्रमणकारी को हुन् कहाबाट कसले परिचालन गरेको छ त्यसको पहिचान गरेर प्रशासनले निकासा निकाल्नुपर्छ ।’ –न्यौपानेले भन्नुभयो ।
एमालेका वडा अध्यक्ष सुर्य न्यौपानेले पनि यो अतिक्रमणमा स्थानीय कसैको पनि सहभागिता नभएको र बाहिरी जिल्लाबट मानिसहरू मगाएर अतिक्रमण गर्न खोजिएको भन्दै त्यसको निकास प्रशासनले खोज्नुपर्ने बताउनु भयो ।
माओबादी केन्द्रका वडा अध्यक्ष कृष्ण नेपालीका अनुसार स्थानीय बासिन्दा दोहोरो मारमा परेका छन् । “प्रशासन र मीडियाले स्थानीयले अतिक्रमण गरे भन्छन् तर हाम्रो कुनै सहभागिता छैन ।” –उहाँले भन्नुभयो ।
यता जनता समाजबादीका बुटवल नगर अध्यक्ष बामदेव भुसाल भने स्थानीय जनप्रतिनिधि र प्रशासनकै कारण स्थानीय जनता मारमा परेको बताउनुहुन्छ । भुसालका अनुसार औद्योगिक क्षेत्रको बारेमा कुनै विवाद छैन तर यसरी अतिक्रमण गर्न आउने को हुन् भनेर पहिचान गरेर कार्बाही गर्ने काम ढिलो हुदा समस्या निम्तिएको हो ।
स्थानीय रुपमा ६ वटा टोल संस्था छन् ती सबै टोलबाट स्थानीयलाई सचेत गराउने काम भइरहेको पनि टोल संस्थाका प्रतिनिधिहरू धर्म बुढाथोकी र डोलबहादुर कुमालले बताउनु भयो । रानीगंजमा भएका कुनै पनि टोलका मानिसलाई अतिक्रमणको कार्यमा सहभागिता नहुन उनीहरुले आग्रह गरेका छन् । आईतवारको दोहोरो झडपमा पर्नेहरू पनि स्थानीय छैनन् । आइतबारको दोहोरो झडप पश्चात सो क्षेत्रमा अतिक्रमकारीको प्रवेश नहोस् भनेर सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । पछिल्ला दिनमा जग्गा रोक्न भन्दै विभिन्न जिल्लाबाट सयौको संख्यामा यो क्षेत्रमा मानिसहरू आउने गरेका छन् र आइतबारको दोहोरो झडप पश्चात बाहिरी जिल्लाबाट आएकाहरु फर्किन थालेको समेत बताइएको छ ।