मोतिपुर झडपमा मृत्यु भएका तीन जनाको सनाखत : मृतकका परिवारलाई १ लाख दिईने

146

मोतिपुर झडपमा मृत्यु भएका तीन जनाको सनाखत : मृतकका परिवारलाई १ लाख दिईने

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झपडमा परि मृत्यु भएका ४ जना मध्ये ३ जनाको सनाखत भएको छ । झडपमा परि घाईते भएका मध्ये ४ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा रुपन्देहीको शुद्धोधन ५ का विरेन्द्रप्रसाद कुर्मी, नवलपरासी बर्दघाट स्थायी घर भई हाल तिलोत्तमा शंकरनगर बस्ने यूजन कुमाल र कपिलबस्तु बाणगंगा १० का ४८ वर्षीय रमेश परियारको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अर्का एक जनाको अझै सनाखत हुन सकेको छैन ।
मोतिपुरमा प्रहरीसँगको झडपमा परी मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक लाख रूपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधिन औद्यौगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको थियो ।
प्रदेश सरकारका प्रवक्ता तथा अन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई जनही एक लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिनुभयो । सरकारले घाइतेहरूको उपचारमा कुनै कमी आउन नदिने पनि बताएको छ । उक्त घटनामा परि ५६ जना सुरक्षाकर्मी सहित ७४ जना घाईते भएका थिए । २ जना सुरक्षाकर्मीलाई थप उपचारको लागि हेलीकप्टरबाट काठमाण्डौ लगिएको छ ।