नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

374

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधै रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो ।

तस्विर: एन्फा

यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो । यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ । बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो ।नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।