तिहार लगत्तै सरकारको कामले गति लिन्छ : मन्त्री श्रेष्ठ

299

तिहार लगत्तै सरकारको कामले गति लिन्छ : मन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा नेकपा (एकिकृत समाजवादी)को नेता कृष्णकुमार श्रेष्ठले तिहार लगत्तै सरकारका कामको गति बढ्ने बताउनु भएको छ । अहिले मन्त्रालयतको योजना बनाउने काम भईरहेको बताउँदै उहाँले तिहार लगत्तै देखिने गरी काम हुने बताउनु भएको हो ।
नेकपा एकिकृत समाजवादी पार्टीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोगेका समस्या समाधानका लागि कुटनितिक रुपमा पहल गरिरहेको समेत बताउनु भयो । मन्त्री श्रेष्ठले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या समाधानको खोजी, श्रम कार्यालयहरुलाई दिने सेवालाई छिटो छरितो बनाउने, श्रम सम्झौता भएका देशहरुसँग परापर्श गर्ने लगायतका काम भइरहेको समेत जानकारी गराउनु भयो ।
बैदेशिक रोजगारीमा जानेहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने प्रवन्ध मिलाएको बताउँदै उहाँले भन्नुभयो – ‘विदेश जानेहरुलाई सहज रुपमा खोप लगाउने व्यवस्था हुन्छ ।’ मन्त्री श्रेष्ठले बुधबार नै बुटवल स्थित श्रम कार्यालयको समेत स्थलगत अवलोकन गर्नुभएको थियो । कार्यालयको भौतिक संरचनाको अभाव देखिएको बताउँदै उहाँले कार्यालयले दिने पुनः स्वीकृतिको संख्या थोरै भएको बताउँदै काठमाण्ठडौ फर्के लगत्तै त्यसलाई के कसरी व्यबस्थित गर्न सकिन्छ त्यसतर्फ गृहकार्य गर्ने जानकारी गराउनु भयो ।
नेकपा एकिकृत समाजवादीले मन्त्री श्रेष्ठसंग बुधबार नै कार्यकर्ता भेला समेत गरेको थियो । कार्यकर्ता भेलामा नेता श्रेष्ठले अहिले आफ्नो पार्टीमा संख्या थोरै देखिएपनि नतिजा चुनावमा मात्रै देखिने बताउनु भयो । अकस्मात कार्यक्रम आयोजना गरिएकोले कार्यकर्ता थोरै देखिएको बताउँदै उहाँले आफूहरु कमजोर नभएको दावी गर्नुभयो ।