बागमतीकी मुख्यमन्त्री शाक्यलाई राजीनामा गर्न सुझाव : सरकारको आयु एकसाता लम्बियो

215

बागमतीकी मुख्यमन्त्री शाक्यलाई राजीनामा गर्न सुझाव : सरकारको आयु एकसाता लम्बियो

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्नु भएको छ । यद्यपी विपक्षी दलका सांसदहरुले राजीनामा गर्न सुझाव दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३९ औं दिनमा शाक्यले विश्वासको मत माग्नु भएको थियो ।
यद्यपी मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेपछि त्यसउपर भएको छलफललाई यथास्थितीमा राख्दै बैठक कात्तिक १० गते बुधबार बस्नेगरी स्थगित गरिएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेपछि छलफलमा बोल्ने विपक्ष दलका सांसदहरुले मुख्यमन्त्री पदबाट राजीनामा गरेर मार्ग प्रसस्त गर्न सुझाव दिएका हुन् ।
नेकपा हुँदै एमाले समेत विभाजित भएर नेकपा (एस) बनेपछि वागमतीमा एमालेको सरकार अल्पमतमा परेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)मा जान रोक्नको लागि एमालेले डोरमणी पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।
दिउसो १ बजेको लागि बोलाईएको प्रदेश सभाको बैठक ३ बजे सारिएको भएपनि ४ बजे मात्रै सुरु भएको थियो । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत माग्न समय दिनुभएको थियो ।
गत भदौ २ मा संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्यले गत असोज २२ मा प्रदेश सभा सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गराउनु भएको थियो भने २४ असोजमा विश्वासको मतको प्रस्ताव पेश गर्नुभएको थियो ।
विपक्षी गठबन्धनले भने नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एस) लगायतका विपक्षी गठनबन्धनका दलले पाण्डेलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेका हुन् ।