बागमतीकी मुख्यमन्त्री शाक्यको राजीनामा : सरकार बनाउन गठबन्धनलाई बाटो खुल्यो

1.3K

बागमतीकी मुख्यमन्त्री शाक्यको राजीनामा : सरकार बनाउन गठबन्धनलाई बाटो खुल्यो

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पदबाट राजीनामा गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख यादव शर्मालाई राजीनामा बुझाउनु भएको हो । एकल बहुमतको मुुख्यमन्त्रीमा नियुक्त भएकी मुख्यमन्त्री शाक्यले बुधबार बसेको प्रदेश सभा बैठकमा राजीनामा गरि प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा बुझाउनु भएको हो ।
मुख्यमन्त्री शाक्यको राजीनामासंगै बागमतीमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमतीमा सरकार गठनको तयारी गरेका छन् । उनीहरुको गठबन्धनले नेकपा एकिकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत भईसकेको छ ।
१०९ सदस्य रहेको बागमतीको प्रदेश सभामा एमालेको ५६ सांसद हुँदा गत भदौ २ गते अष्टलक्ष्मी शाक्य एकल बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पार्टी विभाजन भएर नेकपा एकिकृत समाजवादी पार्टी गठन भएपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको थियो । पार्टी विभाजनपछि एमालेका ४३ सांसद छन् ।