लुम्बिनी प्रदेश सभाको बिहिबार बसेको बैठकमा नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुनासाथै एमाले सांसदहरुले नारावाजी गरेका थिए । बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको थियो ।
प्रदेश सभको बैठक सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारवाही सुरु गर्नासाथ एमाले प्रदेश सभाका सदस्य नारायण आचार्यले आफूहरुको माग पुरा नहुँदासम्म सदन चल्न नदिने बताउनु भयो । लगत्तै एमाले सांसदहरुले नारावाजी सुरु गरेका थिए । एमालेले तत्कालिन नेकपाबाट निर्वाचित सांसद विमला वली र स्वतन्त्र सांसद अजय शाही एमालेका सांसद भएको भन्दै पदमुक्त गर्न माग गर्दै आएको छ ।
तत्कालिन नेकपाबाट निर्वाचित सांसद वलीले माओवादी केन्द्र रोज्नु भएको छ भने चुनावी तालमेल गरेपनि आफू स्वतन्त्र सांसदको हैसियतमा रहेको बताउँदै आउनु भएको छ । प्रदेश सभा सचिवालयले पनि उनीहरुलाई पदमुक्त गर्न नमिल्ने बताईसकेको छ । यहि विषयलाई लिएर एमालेले नवौं अधिवेशनका सबै बैठक अवरोध गर्दै आएको छ ।
बिहीबारको प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णायार्थ पेस हुने कार्यसूची थियो ।