नेकपा एमालेको गढ मानिएको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा नेपाली काँग्रेसले बृहत पार्टि प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बुटवलको बुद्धनगरमा आयोजित कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र परित्याग गरि ५७३ जना बढि स्थानिय कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशी कार्यकर्तालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन बहादुर विश्वकर्माले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गर्नु भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता मिन बहादुर विश्वकर्माले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पार्दै अरु सवै पार्टी मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गर्नु भएको छ । उहाँले भन्नुभयो ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन, एक्लैले बहुमत ल्याउँछ ’ तर काँगेस एकढिक्का हुन जरुरी रहेको बताउनु भयो । नेता विश्वकर्माले राजनितीक स्थिरता र विकासका लागि काँग्रेसको आवश्यकता भएकाले काँग्रेसले लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सरकारको नेतृत्व गरेको प्रष्ट पार्नृ भयो ।
पछिल्लो समयमा काँग्रेसका पक्षमा देशभर जनलहर बढिरहेको बताउदै नेता विश्वकर्माले नेपाली काँग्रेसको विजयले देश र जनताको भाग्य कोरिने भएकाले आगामी चुनावलाई लक्षित गरेर काम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य युवराज गिरी, काजिमान श्रेष्ठ, बालकुमारी भण्डारी, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उपमहानगरपालिका नगर सभापती खेलराज पाण्डे लगायतले नव प्रवेशीलाई पार्टिमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताउनु भयो । साथै सरकारले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेको राष्ट्रिय भूमि आयोगलाई पुर्णता दिई जतिसक्दो चाँडो भुमिहिन तथा अव्यवस्थित बसोवासलाई लालपुर्जा वितरण गर्न आग्रह गर्नु भयो ।

वडा सभापती जितबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रम स्वागत लक्ष्मी गौतम र वडा सचिव यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका जिल्ला नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु एवं भातृ, शुभेच्छुक संस्थाका पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो । साथै वडा नम्बर ११ मा बब्लु थापाको सभापतित्वमा ३९ सदस्यीय युवा परिचालन समिती समेत गठन गरिएको वडा सचिव यज्ञप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।