महाधिवेशन आफ्नो पक्षमा पार्न कर्मचारीको प्रयोग भयो : काँग्रेस नेता कोईराला

1.3K

महाधिवेशन आफ्नो पक्षमा पार्न कर्मचारीको प्रयोग भयो : काँग्रेस नेता कोईराला

नेपाली काँग्रेसका नेता केन्द्रीय सदस्य डा. शेखर कोईरालाले पार्टीको महाधिवेशन प्रभावित पार्नको लागि सभापति शेरबहादुर देउवाले व्यूरोकेट्स (कर्मचारी) प्रयोग गरेको आरोप लगाउनु भएको छ । नेता कोईरालाले प्रधानमन्त्री समेत रहका पार्टीका सभापति देउवाले महाधिवेशन आफ्नो पक्षमा पार्नको लागि सिडिओ र डिआईजी प्रयोग गरेको आरोप लगाउनु भएको हो ।
नेपाली काँग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिले बुधबार बुटवलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै काँग्रेस नेता कोईरालाले प्रधानन्यायाधिश चोलेन्द्र समसेर जवरालाई पदबाट राजीनामा गरेर मार्ग प्रसस्त गर्न पनि आग्रह गर्नुभयो । कार्यपालिकामा भाग खोजेको व्यक्ति विरुद्ध राजीनामा माग हुनु स्वभाविक भएको बताउँदै उहाँले भाग लिने मात्रै नभएर भाग दिने व्यक्ति पनि त्यसमा उत्तिकै दोशी भएको उल्लेख गर्नुभयो । ‘यो विषयमा काँग्रेस बोल्नु पर्दैन ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘हामी काँग्रेस भएकै कारण चुप लागेर बसेका हौं ?’
उहाँले आगामी आम निर्वाचनमा पार्टीका आम नेता कार्यकर्ताले काँग्रेसले एक्लै चुनाव लड्नुपर्ने मत राखेकाले काँग्रेस एक्लै चुनाव लड्नुपर्ने आफ्नो पनि धारणा रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, कपिलबस्तुका सभापति तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, रोल्पाका सभापति तथा पूर्वमन्त्री अमर पुन, गुल्मीका सभापति भुवन श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोखरेललगायतले पार्टीले नयाँ नेतृत्व खोजेको भन्दै पार्टीलाई चलायमान नेतृत्व आउनु पर्ने भनाई राख्नुभएको थियो । कार्यक्रममा बोल्ने नेता कार्यकर्ताले चुनावमा अरु पार्टीसंग मिलेर नभई काँग्रेसलाई एक्लै प्रस्तुत हुन सुझाव दिएको सचिव छायाँ पोखरेलले बताउनु भयो ।
सम्पर्क समितिका सभापति घनश्याम पन्तको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र भण्डारी, गुल्मीका सचिव खिलध्वज पन्थी, रुपन्देही क्षेत्र नं. २ का सभापति हरि लम्साल, बुटवल नगर समितिका सभापति, खेलराज पाण्डे, डिएलएका केन्द्रीय उपाध्यक्ष गोकर्णसिंह थापा, सम्पर्क समितिका सल्लाहकार हरिबहादुर आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाली काँग्रेस बुटवलका सचिव समेत रहेका सम्पर्क समितिका सचिव छाया पोखरेलको सञ्चालनमा भएको थियो ।