आजदेखि राष्ट्रिय जनगणना–२०७८ सुरु हुँदै : चालिस हजार गणक परिचालन

1.3K

आजदेखि राष्ट्रिय जनगणना–२०७८ सुरु हुँदै : चालिस हजार गणक परिचालन

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । २५ कात्तिकदेखि सुरु गरिने राष्ट्रिय जनगणना ९ मंसिरमा सकिने छ ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गर्ने तयारी गरेको छ । त्यस्तै त्यसपति प्रधानमन्त्री शेरबहादुर देउवा र उपराष्ट्रपति नन्दबहादुर पुनको विवरण संकलन गरिने छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार बिहान ९ः३० बजे राष्ट्रपति भण्डारी, ११ बजे प्रधानमन्त्री देउवा र १ बजे उपराष्ट्रपति पुनको निवासमा गणकहरु पुग्ने छन् । जनगणनाको विवरण संकलनको लागि ४० हजार गणक र साढे ८ हजार सुपरीवेक्षक परिचालन गरिएको छ ।
जनगणनाको पहिलो चरणमा घरधरी तथा परिवारको सूचिकरण गरिसकिएको छ । सूचिकृत भईसकेका र कुनै कारणबस छुटेका सबै घरमा पुगेर गणकहरुले विस्तृत विवरण संकलन गर्नेछन् । त्यसको लागि काठमाण्डौ जिल्लामा डिजिटल पद्दति (ट्याबलेट)को प्रयोग गरिने छ भने बाँकी ७६ जिल्लामा कागजमा प्रश्नावली प्रयोग गरेर विवरण संकलन गरिनेछ ।
भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणनाको लागि भारतसंग सरकारले कुटनीतिक पहल भईरहेको जनाएको छ । ती क्षेत्रमा भारतले अनुमति नदिए अनुमानका आधारमा जनगणना गरिने विभागले जनाएको छ ।