नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार भएको प्रदेश क्षेत्रीय समिति ३(क) रुपन्देहीको मतगणना भईरहँदा संस्थापन ईतर समुहमाथि शेरबहादुर देउवा समुहले आक्रमण गरेको छ ।
मतगणनामा संस्थापन ईतर समुहले लिड गरेपछि पार्टी सभापति देउवा समुह आक्रमणमा उत्रिएको हो । नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ (सेते)को नेतृत्वमा १०/१५ जनाको समुहले गरेको आक्रमणबाट क्षत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्त सहित ५/६ जना घाईते भएको क्षेत्र नं. ३ (क)का सभापतिका उम्मेद्वार समेत रहेका प्रत्यक्षदर्शी पुरनप्रसाद श्रेष्ठले बताउनु भयो ।

राती करिव २ः३० बजेको समयमा भएको आक्रमणबाट गम्भिर घाईते शैलेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । बाँकी घाईतेहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भईरहेको उहाँले बताउनु भयो । घाईते शैलेशको अनुहारमा गहिरो चोट लागेको र नाकमा हड्डी फ्याक्चर भएको उहाँका बुवाले बताउनु भयो ।
यता संस्थापन ईतर समुहले शनिबार बिहानै लुम्बिनी प्रादेशिक अस्पतालमा पत्रकार सम्मेलन गरि पार्टीका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणको आडमा भाईसमेत रहेका काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको निर्देशनमा उक्त घटना भएको आरोप लगाएको छ । काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मात्रिका यादव र प्रदेश सभापति पदका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा अपराधिक कार्यमा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन समेत गृह प्रशासनसंग आग्रह गरिएको छ ।

प्रदेश ३ (क) को निर्वाचनमा सभापति पदमा सभापति देउवा समुहबाट सुरेन्द्रजंग थापा र ईतर समुहबाट पुरनप्रसाद श्रेष्ठ उम्मेदवार थिए । मतदान सकिएपछि साँझ ९ बजेदेखि सिद्धार्थ नगरपालिकामा मतगणना सुरु भएको र श्रेष्ठ नेतृत्वको समुहले लिड गरेपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वको टोलीले जेनेरेटर बन्द गरेर एकाएक आक्रमणमा उत्रिएको पत्रकार सम्मेलनमा श्रेष्ठले बताउनु भयो । पत्रकार सम्मेलनमा नेता भरतकुमार शाह पनि सहभागि हुनु भएको थियो । उहाँले पार्टीको चुनावमा यसरी आक्रमणमा उत्रिनु गलत भएको बताउँदै यसले कसैलाई पनि राम्रो नगर्ने प्रतिक्रिया दिनुभयो ।

यता जिल्ला सचिव रामकृष्ण खाँणले भने ईतर समुहले लगाएको आरोप निराधार भएको प्रतिक्रिया दिनुभएको छ । आक्रमण मतगणना स्थलमा नभई बाहिर भएको र आफूहरुको निर्देशनमा भन्ने आरोप गलत भएको बताउनु भयो ।