नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आज(शुक्रबार)देखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौरहामा आयोजना हुने बन्दसत्रबाट पार्टीको नयाँ नेतृत्व चयन गरिने छ ।
महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष केपि शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । एमालेको राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि चितवन आउँदै हुनुहुन्छ । एमालेले बिभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि महाधिवेशनमा निम्तो गरेको छ । यद्यपी भर्खरै एमालेबाट फूटेको माधवकुमार नेपाल नेतृत्वका नकपा (एकिकृत समाजवादी) पार्टीलाई भने निम्त्याएको छैन ।
मध्यान्ह १२ः४५ मा उद्घाटन हुने महाधिवेशनमा राजनीतिक दलका शीर्ष नेताहरु जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले शुभकामना मन्तब्य राख्नेछन् ।
महाधिवेशन उद्घाटनको दिन नारायणगढ क्षेत्रमा कार्यकर्ताहरुको चहल पहल बिहानै देखि छ । महाधिवेशन उद्घाटन अगाडि बिभिन्न सात स्थानबाट जुलुस निकाल्ने तयारी छ । भारतीय नम्बर प्लेटका गाडी र स्कुलका बस समेत रिजर्भ गरेर एमालेले मानिसहरुलाई चितवनमा उतारेको देखिएको छ । चितवनमा मानिसको चहलपहल र भिडभाड बढी हुँदा ट्राफिक व्यबस्थापन अस्तव्यस्त बनेको छ । ट्राफिक व्यबस्थापन र सुरक्षाका लागि १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।