प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतान्त्रिक मुल्य मान्यतालाई संस्थागत गर्न एमालेलाई जिम्मेवार भएर भूमिका खेल्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि बताउनु भयो ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनतासंग जोडिएका मुद्धामा सबै दल एक हुनुपर्ने भनाई राख्नुभएको हो । प्रधानमन्त्री देउवाले सहमति र सहकार्यमा जोड दिँदै देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने पनि बताउनु भयो ।
दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने बताउँदै उहाँले दलहरु बिच देखिएका बिमतिलाई संविधानले निर्धारण गरेको बिधिबाट टुंगोमा पु¥याउँदा त्यसलाई सबैले स्वीकार गर्नुपर्ने भनाई राख्नुभयो । मुलुकमा देखिएका सबै समस्यालाई संवाद र छलफलकै माध्यमबाट समाधान गर्ने आफ्नो चाहना रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।
संविधान पनि सबै दल मिलेर ल्याएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले संविधानको प्रभावकारी कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने भनाई राख्नुभयो ।