एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्बिरोध

305

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्बिरोध

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल निर्बिरोध निर्वाचित हुनु भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा दावी गर्दै आएका सुवासचन्द्र नेम्वाङ्को समेत उम्मेदवारी नपरेपछि पोखरेल निर्बिरोध निर्वाचित हुनु भएको हो । वरिष्ठ उपाध्यक्षमा दावी गर्दै ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश पठाएका नेम्वाङ्को नाम उपाध्यक्षमा प्रस्ताव भएको थियो ।
त्यस्तै महासचिवमा शंकर पोखरेल र तीन उपमहासचिव पदमा प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्बिरोध निर्वाचित हुनुभएको हो । महासचिवमा विष्णु पौडेलले दावी गरेपनि उपाध्यक्षमा उम्मेदवारी परेको छ । महासचिव पदमा दावी गरेका पौडेलको नाम पनि ओलीले उपाध्यक्षमा प्रस्ताव गर्नुभएको थियो ।
चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले ज्ञवाली, गुरुङ र रिमाललाई उपमहासचिव बनाउन प्रस्ताव गर्नुभएको थियो । सोमबार बिहान मनोनयन गर्ने समयसम्म त्यसबाहेक अरु कसैले उम्मेदवारी नदिएपछि उपमहासचिवमा तीनै जना निर्बिरोध निर्वाचित हुनु भएको हो ।
त्यस्तै श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध भएका छन् । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ सहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत केन्द्रीय सदस्य बनेका हुन् ।