पार्टीलाई एकतावद्ध कायम राख्नु नै नेतृत्वकाे ठूलाे उपलब्धि : गृहमन्त्री खाँण

466

पार्टीलाई एकतावद्ध कायम राख्नु नै नेतृत्वकाे ठूलाे उपलब्धि : गृहमन्त्री खाँण


गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई एकतावद्ध बनाएर राख्नु नै नेतृत्वकाे ठूलाे उपलब्धि भएकाे दावी गर्नुभएकाे छ ।
नवनिर्वाचित पालिका, क्षेत्र तथा जिल्ला कार्यसमिति र प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिका लागि नेपाली काँग्रेस रुपन्देहीले मंगलबार भैरहवामा आयाेजना गरेकाे शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्वाेधन गर्दै उहाँले देशभित्रका र देश बाहिरका अलाेकतान्त्रिक शक्तिहरुले प्रहार गरिरहँदा पनि पार्टीलाई एकतावद्ध कायम राख्नु नेतृत्वकाे ठूलाे उपलब्धि भएकाे बताउनु भएकाे हाे ।
नेपाली काँग्रेसकाे महाधिवेशन अन्तरगत रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गरेर देशभरि नै सन्देश दिएकाे पनि उहाँले बताउनु भयाे । गृहमन्त्री खाँणले कार्यकर्ता मिल्दा पार्टी बलियाे हुने बताउँदै नेताले त्याे भूमिका खेल्नुपर्ने भनाई राख्नुभयाे ।

नेता शाहद्वारा प्रदेश सभापतिमा उम्मेद्वारी घाेषणा

कार्यक्रममा सम्वाेधन गर्दै नेता भरतकुमार शाहले नेपाली काँग्रेसकाे लुम्बिनी प्रदेश सभापतिमा उम्मेद्वारी घाेषणा गर्नुभएकाे छ । उहाले आसन्न प्रदेश अधिवेशनमा प्रदेश सभापतिमा उम्मेद्वारी घाेषणा गर्दै सहयाेगकाे लागि समेत आग्रह गर्नुभयाे ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका काँग्रेस नेता शाहले शिक्षा र स्वास्थ्य नागरिकाे नैसर्गिक अधिकार भएकाे बताउंदै शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्नुपर्ने भनाई राख्नुभयाे । उहाले सुकुम्वासी समस्या समाधान गर्नेगरी काम गर्न समेत गृहमन्त्री खाँण मार्फत सरकारकाे ध्यानाकर्षण गराउनु भयाे ।
त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देहीका नवनिर्वाचित सभापति रामकृष्ण खाँणले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्न भूमिका खेल्ने नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूले याे उ नभनेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा पुर्व सांसद राजु खनाल, निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे, नवनिर्वाचित सचिव हरिप्रसाद काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।