अपाङ्गता भएका व्यक्तिका विषयमा छलफल : कसरी रोजगारीको अवसर दिन सकिन्छ ?

1.3K

अपाङ्गता भएका व्यक्तिका विषयमा छलफल : कसरी रोजगारीको अवसर दिन सकिन्छ ?

अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी रोजगारीको दायरामा ल्याउन सकिन्छ भन्ने विषयमा शुक्रबार बुटवलमा छलफल गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ, राष्ट्रिय अपांग महासंघ र द लेप्रोसी मिसन नेपालले सञ्चालन गरेको फाउण्ड परियोजनाको आयोजनामा अपाङ्गता भएका व्यक्तिलाई कसरी सीपयुक्त बनाएर रोजगारीको दायरामा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।
फाउण्ड परियोजनाले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक तालिममा सहजीकरण गर्नुको साथै उनीहरुलाई रोजगारीको लागि समन्वय गर्ने काम गर्दछ । ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजना गरिएको औपचारिक रोजगारीमा संलग्न अपांगता भएका व्यक्तिहरु र रोजगारदाता बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थीले उद्योग व्यापार व्यबसाय नै धाराशायी हुँदा मुलुकको रोजगारीमै समस्या भएको बताउनु भयो ।
जसका कारण अपाङ्गता भएका व्यक्ति पनि रोजगारीबाट वञ्चित हुनु परेको भनाई उहाँले राख्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण तुलनात्मक रुपमा सकारात्मक हुँदै गएको बताउँदै उहाँले पछिल्ला दिनमा अवसर पाउँदै गएपनि अझै प्रयाप्त नभएको बताउनु भयो ।
फाउण्ड परियोजना बुटवलका प्रमुख रामदयाल यादवले परियोजनाले गर्ने कामहरुको बारेमा जानकारी गराउँदै अपाङ्गता भएका व्यक्तिलाई अवसर प्रदान गर्न उद्योग प्रतिष्ठानहरुलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्योगमा आवश्यक जनशक्ति र उनीहरुलाई सहज हुने काम बिचको तारतम्य नमिलेका कारण आवश्यकता अनुसार अवसर प्रदान गर्न नसकिएको भनाई राख्नुभयो । उहाँले प्रतिष्ठानहरुमा अपाङ्गता मैत्री पूर्वाधार नहुँदा पनि अपाङ्गता भएका व्यक्तिलाई रोजगारी प्रदान गर्न कठिन हुने गरेको भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका उपसभापति कबिन्द्र नेपालले व्यक्तिको अपाङ्गताको प्रकृति अनुसार सीपयुक्त तालिमको प्रवन्ध गर्नुपर्ने र उनीहरुलाई सोही अनुसारको रोजगारीको प्रवन्ध गरिनुपर्ने भनाई राख्नुभयो । मारवाडी सेवा समितिका अध्यक्ष मनोज मित्तलले अपाङ्ता भएका व्यक्तिलाई के कसरी सहयोग गर्न सकिन्छ आफू तयार रहेको बताउँदै जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई तालिम दिने र उनीहरुलाई रोजगारी उपलब्ध गराएका संस्थाका प्रतिनीधिहरुले अपाङ्गता भएका व्यक्तिले पनि सवलाङ्गले जस्तै काम गर्न सक्ने भनाई राखेका थिए । त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुले अवसर पाए क्षमता अनुसार सवलाङ्ग भन्दा कम नहुने बताएका थिए ।
कार्यक्रममा पत्रकार प्रदिप आचार्य, प्रकाश गौतम, राजु उप्रेती, शंकर शर्मा, हरिबाबु पन्थी, महेश पोखरेल लगायतले भनाई राखेका थिए ।