नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा ईतर समुहका केन्द्रीय सदस्यहरुको भेलाले रामचन्द्र पौडेललाई सभापतिमा साझा उम्मेदवार बनाउनु पर्ने निर्णय सहित नेताहरुलाई सुझाव दिएका छन् । उनीहरुले पार्टीका वरिष्ठ नेता पौडेललाई सभापतिमा साझा उम्मेदवार बनाउने र सभापतिका अकांक्षी अन्य नेताहरुलाई उपसभापति तथा महामन्त्री र सहमहामन्त्रीमा समेट्न समेत सुझाव दिएका हुन् ।
बिहिबार बसेको बैठकले पार्टीको संस्थापन ईतर समुहबाट साझा उम्मेदवार बनाउनको लागि सबैललाई त्याग गर्न समेत बैठकले सुझाएको छ । मुलुकको प्रधानमन्त्री समेत रहेका सभापति देउवा महाधिवेशन प्रतिनीधिहरुको अंकगणितमा बलियो देखिएपछि देउवा ईतर समुहमा साझा उम्मेदवार बनाउन दवाव बढेको छ ।
बैठकमा छलफल सकेर युवा नेताहरु सभापतिका आकांक्षी प्रकाशमान सिंह र अर्का आकांक्षी डा. शेखर कोईरालालाई भेट्न पुगेका छन् । पार्टीको संस्थापन समुहमा सभापति पदमा देउवा र उपसभापति विमलेन्द्र नीधिको समेत दावी छ । यद्यपी निधीको पक्षमा महाधिवेशन प्रतिनीधिहरु अत्यन्तै कमजोर देखिएको छ । संस्थापन ईतर समुहमा भने वरिष्ठ नेता पौडेल सहित महामन्त्री डा. सशांक कोईराला, प्रकाशमान सिंह र शेखर कोईरालाको दावी छ । संस्थापन ईतर समुहमा नेता पौडेल र सशांकले त्याग गर्न तयार देखिएपनि सिंहले आफूलाई सभापतिको साझा उम्मेदवार बनाउनु पर्ने जोड छ । त्यस्तै सभापतिका बलिया दावेदार शेखरले पछिल्लो समयमा सभापतिमा रामचन्द्र पौडेललाई छाड्ने तर प्रकाशमानलाई छोड्न नसक्ने बताउनु भएको छ ।