ट्रक व्यवसायीको एउटै आवाज : ओभरलोड नियन्त्रणमा सरकार गम्भिर बनोस्

1.3K

ट्रक व्यवसायीको एउटै आवाज : ओभरलोड नियन्त्रणमा सरकार गम्भिर बनोस्

ढुवानीमा ओभरलोड नियन्त्रणको लागि गम्भिर बन्न ढुवानी व्यबसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको शुक्रबार आयोजित २१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन उद्घाटन समारोहमा बोल्ने व्यवसायीहरुले ओभरलोड नियन्त्रणमा सरकारले वेवास्ता गरेका कारण मुलुकको सडक दिनप्रतिदिन जिर्ण बन्दै गएको र अर्को तिर नेपाली व्यवसायी धारासायी हुनु परेको गुनासो गरेका हुन् ।
उनीहरुले ओभरलोडका कारण मुलुकको सडक जिर्ण हुँदै गएको र स्वदेशी पुँजी समेत पलायन भईरहेको भनाई राखेका थिए । त्यस्तै सरकारले तोकेको न्यूनतम भाडादर कार्यान्वयन नहुँदा पनि व्यबसायी मारमा परेको बताए । आफूहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेर विभेद गरेको समेत उनीहरुको आरोप छ ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले यातायात क्षेत्रलाई तहसनहस बनाएको आरोप लगाउनु भयो । उहांले सरकारले यातायात व्यवसायीलाई विभेदपूर्ण व्यवहार गरेकाले सरकारकै बिरुद्व अदालत जानुपरेको उल्लेख गर्दै यातायात व्यवसायिका मागमा गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
भारतीय ओभरलोड गाडिहरु रोक्न र व्यवसायिका अन्य समस्याप्रति महासंघले नीतिगत रुपमा ठूलो उपलब्धी हासिल गरेको उहाँले दावी गर्नुभयो । भाडा समायोजन गर्न व्यवसायी र संघसंस्थाहरु आफै सक्रिय हुनुपर्ने बताउंदै सातवटै प्रदेशबाट रोड परिमिट पाउनुपर्ने उहाँले माग राख्नुभयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय ओभरलोड गाडि नियन्त्रणका लागि सामानको विमा गर्नुपर्ने बताउनुभयो । सरकारले तोकेको पुरा भाडा ल्याउन व्यवसायी आफै जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी प्रकाश अधिकारीले समस्या समाधानको लागि सबै मिलेर काम गर्नुपर्ने भनाई राख्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा समितिका सल्लाहकार लोकराज पोखरेलले भारतीय ओभरलोड गाडिहरुसंग नेपाली व्यवसायी प्रतिस्पर्दा गर्न नसक्ने बताउंदै गाडि चलाएर जीविका चलाउने स्वरोजगार व्यवसायी विस्थापित हुने अवस्था आएको उल्लेख गर्नुभयो । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाले राज्यले गर्ने काम यायातायात व्यवसायीले गर्दा पनि यातायात व्यवसायिका मागहरु सुनुवाई हुन नसकेको बताउनुभयो ।
नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्रबिक्रम बानिया, नारायणी यातायात व्यवसायी समितिका अध्यक्ष गोकर्ण पराजुली, पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, समितिका सल्लाहकार प्रेम श्रेष्ठ, नारायणी यातायात प्रालिका अध्यक्ष गोकर्ण पराजुली, ढुवानी व्यवसायी समितिका अध्यक्ष श्यामराज हमाल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिम नेपाल यातायात प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र भुसाल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, सामाजिक अभियान्ता प्रख्यात वञ्जाडे लगायतले ढुवानी यातायात व्यवसायमा भएका समस्या समाधानका व्यवसायिक संघसंस्थाहरुको तर्फबाट ऐक्यवद्धता व्यक्त गरेका थिए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षता, महासचिव जीतबहादुर भाट क्षेत्रीको सञ्चालन र वरिष्ठउपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागतमा कार्यक्रम भएको थियो । साधारण सभा तथा अधिवेशनको अवसरमा २०७७ र ०७८ मा विभिन्न कारणले निधन भएका नौ जना चालकका घरपरिवारलाई मृत्यु पश्चात दिइने राहत स्वरुप रु दुइ लाखको चेक हस्तान्त्रण गरिएको थियो ।