नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटनमा मञ्चबाटै भोट माग्नु भएको छ । पार्टीको १४ औं महाधिवेशन उद्घाटन सम्बोधनका क्रममा सभापति देउवाले पुन एक कार्यकाल सभापति बन्नको लागि महाधिवेशन प्रतिनीधिहरुलाई सम्बोधन गर्दै मञ्चबाटै मत माग्नु भएको हो ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफ्नो सरकार बनेसँगै सबैले ओली शासनबाट मुक्ति पाएको महसूस गरेको बताउनु भयो । ‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डर त्रास थियो ? म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाए जस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।’ –उहाँले भन्नुभयो ।
उहाँले आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेसको सरकार बनाउने जिम्मा दिन आग्रह गर्नुभयो । अब कुनै किसिमको तानाशाह सरकारमा नआओस् भन्न महाधिवेशनले निर्णय गर्नुपर्ने बताउँदै उहाँले आफूलाई जिताउन आग्रह गर्नुभएको हो ।
प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि मनोमालिन्यबाट मुक्त हुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ, कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ, त्यसका लागि मलाई एक पल्ट जिताइदिनुस् ।’