बुटवललाई पर्यटनको ट्रान्जिक्ट प्वाईन्ट बनाउने लक्ष्य सहित खुल्यो ‘ड्रिम ईन्टरनेशनल होटल’

571

बुटवललाई पर्यटनको ट्रान्जिक्ट प्वाईन्ट बनाउने लक्ष्य सहित खुल्यो ‘ड्रिम ईन्टरनेशनल होटल’

बुटवललाई पर्यटनको ट्रान्जिक्ट प्वाईन्ट बनाउने लक्ष्य सहित बुटवलमा ५० करोड लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सहित बुटवल उपमहानगरपालिका वडा नं. ९ तिनकुने नजिकै बुटवलमै पहिलो ‘बुटिक होटल’ को रुपमा ड्रिम इन्टरनेशनल होटल प्रा.लि सञ्चालनमा आएको हो ।
करिव ५ कट्ठा आफ्नै स्वामित्वको जग्गामा पूर्वाधार निर्माण गरि सञ्चालनमा ल्याएको होटल तीन तारे स्तरको भएको होटलका अध्यक्ष गोपाल रानाले बताउनु भयो । होटलको बारेमा जानकारी गराउन आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष रानाले आफ्नै नेतृत्वमा पारिवारिक लगानी रहेको जानकारी गराउनु भयो ।
५ तलाको पूर्वाधार संरचनामा सञ्चालन गरिएको उक्त होटलमा ५० वटा स्वीट तथा डिलक्स रुम (कोठा) तथा २ वटा मिनि मिटिङ हल छन् । होटलमा डाइनिङ रेष्टुरेन्ट, बार क्याफे तथा ट्यारेस रेष्टुरेन्ट तथा कार्यक्रम र फेमिलीका लागि उपयुक्त हुनेगरी अलग अलग क्याफे तयार गरिएको छ ।
बुटवल तथा आसपासका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको प्रचार प्रसार र त्यसका माध्यमबाट पर्यटन पंवद्र्धन गरि विदेशी पुँजी आयात गर्ने लक्ष सहित सुरु गरिएको राना बताउनु हुन्छ । छिमेकी मुलुक भारत सहित भैरहवामा उडान तयारी हुँदैगरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने पर्यटकलाई लक्षित गरिएको बताउँदै उहाँले बुटवललाई पर्यटनको ट्रान्जिक्ट प्वाईन्ट बनाउने गरी लगानी गरिएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार होटेलमा आउने आन्तरिक र बाह्य पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, लुम्बिनी, पाल्पाको रानीमहललगायतका स्थानमा घुमाइने छ । होटल व्यवस्थापन सम्बन्धी विषयमा जानकार दक्षजनशक्ति सहित करिब ६० जनाले प्रत्यक्ष रोजगारी पाएको होटलका व्यवस्थापक शरण घलेले जानकारी दिनुभयो ।