लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले युवा उद्यमीहरुलाई लुम्बिनी प्रदेशमा आएर उद्योग स्थापना गर्न आग्रह गर्नु भएको छ । लुम्बिनी प्रदेशमा लगानीको राम्रो सम्भावना पनि भएको र नीतिगत रुपमा सरकारको तर्फकाट आफूले वातावरण तयार गर्ने भन्दै उहाँले प्रदेशमा आएर उद्योग स्थापना तथा सञ्चालनको लागि आग्रह गर्नु भएको हो ।
युवा उद्यमी मञ्च रुपन्देहीद्वारा आयोजित ‘युवा उद्यमी सम्मेलन–२०२१’ उद्घाटन गर्दै मन्त्री शाहीले आफू मन्त्री भएर आएपछि प्रदेशको औद्योगिक बिकासको लागि के गर्न सकिन्छ भनेर लागि परेको बताउनु भयो ।

उहाले आफू मन्त्री भएपछि उद्यम बिकास कोषलाई १० लाखबाट बढाएर २० लाख बनाएको जानकारी गराउनु भयो । बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गर्न चाहने उद्योगीलाई २० लाख रुपैंया सम्मको सरकारले उक्त कोषबाट तीन वर्षसम्म व्याज तिरिदिने उहाले बताउनु भयो ।
मन्त्री शाहीले युवा उद्यमी मञ्चले सञ्चालन गरेका गतिबिधिले युवा उद्यमशिलता बिकास हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले उद्यममा नवप्रवेशीहरुलाई गाईडलाईन निर्माण गर्नको लागि उद्यमीहरुले सामना गरिरहेका मुद्धाहरु प्रकाश पार्ने र बैंकर, लगानी कर्ता, उद्यमी अभिनन्दन कर्ता तथा आकांक्षी उद्यमीहरुर्लाइ जोड्न नविनतम प्रयास गरिएको बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, लोटस होल्डिङका संस्थापक अजित बिक्रम शाह, ई–सेवा फोन पे प्रलिका अध्यक्ष अस्गर अलि, टुट्लेका संस्थापक शिक्षित भट्ट, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि विज्ञ (व्यापारी) राजेन्द्र देवकोटा, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल, थ्री एच म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सोहनबाबु कार्की, मेघा बैंकका प्रवन्धक विप्लवी त्रिपाठी सिद्धार्थ इन्टरनेशनल कलेजका प्राध्यापक रामप्रसाद खरेल, मेल्टीस बुटवलका प्रविना खनाल र साधना नेपाल ईन्डष्ट्रिज (रोयल छोप)का संस्थापक हिमाल वेलवासेले उद्यमशिलता सम्बन्धि आफ्ना अनुभवहरु शेयर गरेका छन् ।