लुम्बिनी प्रदेश सरकारले नवलपरासी र कपिलबस्तु जिल्लामा यातायात ब्यवस्था सेवा कार्यालय स्थापना गर्न ती कार्यालयहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले नवलपरासी र कपिलबस्तु जिल्लामा यातायात ब्यवस्था सेवा कार्यालय स्थापना गर्ने ती कार्यालयहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
निर्णयसँगै श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयलाई नवलपरासी र कपिलबस्तु जिल्लामा यातायात ब्यवस्था सेवा कार्यालय स्थापना गर्ने बाटो खुलेको छ । मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफ एम रेडियोहरुका लागि आर्थिक बर्ष २०७८÷०७९ को इजाजत पत्र नविकरण दस्तुर छुट दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिनु भयो ।
त्यस्तैगरी मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रदेश सरकार वत्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यबिधि,२०७८ स्वीकृत गर्नुका साथै प्रदेश स्वास्थ्य उपचार बिशेष आर्थिक सुबिधा निर्देशिका २०७८ स्वीकृत गरेको छ । बैठकले प्रदेश राजधानीका बनाउन जग्गा प्राप्त गर्न र राजधानी निर्माणका लागि संघीय सरकारसँग रकम माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनु भयो ।त्यस्तै बैठकले प्रदेश स्वास्थ्य संस्था स्थापना,सञ्चालन,नबिकरण तथा स्तरोन्नती (पहिलो संशोधन) नियमावली स्वीकृत गर्नुका साथै प्रदेश सरकार मातहतका बिभिन्न कार्यालयहरुमा रहेको अस्थायी संगठन संरचना र दरबन्दीको म्याद चालु आर्थिक बर्षको असार मसान्त सम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकले दाङको भालुवाङ स्थित स्वास्थ्य चौकीलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश मातहत सञ्चालनमा ल्याउन संघीय सरकारसँग माग गर्नुका साथै राप्ती प्राबिधिक शिक्षालय दाङलाई गढवा ३ दाङ स्थित सरस्वती माबिको जग्गा हस्तान्तरण गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शर्माले जानकारी गराउनु भयो ।