नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत

1.3K

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएको छ । प्रथम सम्मेलनको तयारी गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकले त्यसलाई आठौं महादिवेशनको रुपमा परिणत गर्दै केन्द्रीय कमिटिमा समेत पदाधिकारीको संख्या बढाउने गरि विधान पारित गरेको हो ।
१५ पदाधिकारी सहित २९९ केन्द्रीय कमिटि हुनेगरी पारित विधान अनुसार पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने छन् ।
स्थायी कमिटि बैठकले गरेको निर्णयलाई अनुमोदन गर्दै केन्द्रीय कमिटि बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको हो । त्यसै अनुसार आज दिउँसो ३ बजे प्रज्ञा प्रतिष्ठानमा आठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने माओवादी केन्द्रले तयारी गरेको छ । त्यसकालागि महाधिवेशन प्रतिनीधिहरु काठमाण्डौमा आईसकेको पार्टीले जनाएको छ । माओवादी केन्द्रको महाधिवेशनमा करिव १ हजार ६ सय महाधिवेशन प्रतिनीधि रहेको बताईएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रले नेपाली काँग्रेस, एमाले, नेकपा(एस) लगायतका ११ राजनीतिक दललाई निम्तो दिएको जनाएको छ । यद्यपी एमाले अध्यक्ष केपि शर्मा ओलीले आफू सहभागि नहुने जानकारी गराईसक्नु भएको छ । महाधिवेशनमा निम्तो दिन फोन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमाले अध्यक्ष ओलीले आफू काठमाण्डौ बाहिर झापामा रहेकाले महासचिव शंकर पोखरेललाई पठाउने बताउनु भएको हो ।
हालै सम्पन्न एमालेको चितवनमा दशौं राष्ट्रिय महाधिवेशनमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफू नगई पार्टीको तर्फबाट स्थायी कमिटि सदस्य लिलामणी पोखरेललाई पठाएको थियो ।