लुम्बिनी प्रदेशको राजधानी संरचनामा संघीय सरकारबाट एक अर्ब सहयोग

352

लुम्बिनी प्रदेशको राजधानी संरचनामा संघीय सरकारबाट एक अर्ब सहयोग

लुम्बिनी प्रदेशमा राजधानीको संरचना निर्माणको लागि संघीय सरकारले एक अर्ब रुपैंया आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता गरेको छ । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानीमा पूर्वाधार निर्माणको लागि संघीय सरकारले एक अर्ब रुपैंया आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेको जानकारी गराउनु भएको हो ।
मुख्यमन्त्री केसीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र आफू बिचमा भएको छलफलबाट प्रदेश राजधानीको पूर्वाधार निर्माणको लागि १ अर्व रुपैंया संघीय सरकारले उपलब्ध गराउने विषयमा सहमति भएको बताउनु भएको हो । यस अगाडि लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बैठकले राजधानीमा पूर्वाधार निर्माणको लागि संघीय सरकारसंग तीन अर्ब रुपैंया आर्थिक सहयोग माग्ने निर्णय गरेको थियो ।
छलफलमा प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको स्थायी राजधानी नयाँ स्थान (दाङको भालुवाङ)मा तोकिएकोले पूर्वाधार निर्माणको लागि संघीय सरकारले तत्काल १ अर्ब रुपैंया उपलब्ध गराउने र थप रकम समेत क्रमशः उपलब्ध गराउने आश्वासन दिनुभएको मुख्यमन्त्री केसीले बताउनु भयो । प्रधानमन्त्री देउवाले प्रदेशको स्थायी राजधानीमा पूर्वाधार निर्माण र नीतिगत निर्माणका काम समेत तिब्र रुपमा अगाडि बढाउन मुख्यमन्त्री केसीलाई आग्रह गर्नुभएको थियो ।
राजधानीको पूर्वाधार विकासको लागि संघीय सरकारले तत्काल एक अर्ब रुपैंया आथिर्क सहयोग गरेकामा मुख्यमन्त्री केसीले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको रकमबाट राजधानीको गुरुयोजना, जग्गा अधिग्रहण तथा भौतिक संरचना निर्माणका काम अगागि बढाईने बताउनु भयो ।