प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६१ जिल्लामा आज (शुक्रबार) जिल्ला अधिवेशन गर्दैछ । पार्टीको दशौं महाधिवेशन अगाडि नै एकसाथ पालिका अधिवेशन गरेको एमालेको आज अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीले भर्चुअल माध्यमबाट एकसाथ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रमको तय गरिएको छ ।
अधिवेशनको लागि ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेताहरु र तोकिएका जिल्ला ईञ्चार्जहरु जिल्ला जिल्लामा पुगिसकेको एमालेले जनाएको छ । सोही अनुसार रुपन्देहीमा पनि एमालेले जिल्ला सदरमुकाम भैरहवामा अधिवेशनको तयारी गरेको छ । जिल्ला अधिवेशनमा रुपन्देहीबाट केन्द्रीय नेतृत्वमा पुगेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटि सदस्य घनश्याम भुसाल, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई लगायतका नेताहरु अहिले जिल्लामा आएका छन् ।
नेकपा एमालेले रुपन्देहीमा १ हजार १०६ जना जिल्ला अधिवेशन प्रतिनीधि चयन गरिएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको लागि गृहकार्य भईरहेपनि नेताहरुले आफू निकट व्यक्तिलाई अध्यक्ष बनाउन लविङ् पनि गरिरहेका छन् ।
एमालेको नवौं जिल्ला अधिवेशन बिहान ११ बजे उद्घाटनको तयारी गरिएको छ । अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित १५० सदस्यीय जिल्ला कमिटिमा आउनको लागि नेताहरुले व्यक्तिगत रुपमा लविङ गरिरहेका छन् ।
एमाले रुपन्देहीका अध्यक्ष केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । अब एमाले रुपन्देहीको नेतृत्व लिनको लागि उपाध्यक्ष पुरुषोत्तम घिमिरेको स्वभाविक दावी देखिएको छ । घिमिरेलाई अध्यक्ष बनाउनको लागि नेताहरु भोजप्रसाद श्रेष्ठ लगायतका नेताहरुले लविङ गरेका छन् । त्यस्तैगरी भौगोलिक रुपमा पछाडी परेको भन्दै भैरहवाका हितराज पन्थीको पनि अध्यक्ष पदमा दावी देखिएको छ ।
त्यस्तै नेताहरु तेजेन्द्र केसी, यज्ञ गैरे, बासुदेव घिमिरेको पनि अध्यक्ष पदमा आकांक्षा देखिएको छ । पन्थी र केसी नेता प्रदिप ज्ञवाली निकट मानिन्छन् । वर्तमान अध्यक्ष शिवराज सुवेदी केसीलाई अध्यक्ष बनाउन लविङ्मा हुनुहुन्छ । त्यस्तै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा यज्ञ गैरेलाई अध्यक्ष बनाउनेमा हुनुहुन्छ ।
त्यसैगरी तेजेन्द्र के.सी, यज्ञ गैरे, बासुदेव घिमिरे पनि अध्यक्षका दाबेदार रहेका छन् । के.सी र पन्थी एमाले नेता प्रदीप ज्ञवाली निकट मानिन्छन् । वर्तमान अध्यक्ष सुवेदी के.सी.लाई अध्यक्ष बनाउने मनस्थितिमा छन् । गैरेलाई अध्यक्ष बनाउने गरी एमालेका अर्का नेता छबिलाल विश्वकर्माले भूमिका खेलिरहेका छन् ।
तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेलाई केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले सघाउने देखिएको छ । घनश्याम भुसाल निकट रहेका घिमिरेलाई पार्टी विभाजनका बेला पौडेलले आफ्नो पोल्टामा उभ्याउनु भएको थियो । यसले पनि घिमिरेलाई पौडेलले सहयोग गर्ने धेरैले आकलन गरेका छन् । यद्यपी पुरुषोत्तम घिमिरे र तेजेन्द्र केसी मध्ये एकजनालाई अध्यक्षमा ल्याउने र बाँकी नेताहरुलाई अरु पदमा व्यवस्थापन गर्नेगरी छलफल भएको पनि बुझिएको छ ।
पार्टी अध्यक्ष ओली आफै सहभागि हुने भएका कारण शंखुवासभाको जिल्ला अधिवेशन भोली शनिबारलाई सारिएको छ । रोल्पामा जिल्ला सचिवको निधन भएका कारण रोकिएको छ । पार्टीमा आन्तरिक विवादका कारण प्रदेश नं. २ का सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्सामा जिल्ला अधिवेशन रोकिएको हो । बाँकी हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा हिमपात र चिसो कारण रोकिएको एमालेले जनाएको छ ।