आँगनले विगतका कार्यक्रमलाई निरन्तरता दिने

243

आँगनले विगतका कार्यक्रमलाई निरन्तरता दिने

बुटवल उपमहानगरपालिकामा सञ्चालित आँगन बचत तथा ऋण सहकारी संस्थाले विगतका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । संस्थाको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाले विगतका कार्यक्रमलाई निरन्तरता दिन सञ्चालक समितिलाई अख्तियारी दिएको हो ।
कोरोना महामारीका बिच पनि अघिल्लो साधारण सभाले पारित गरेका कार्यक्रमहरु कार्यान्वयन भएको र ती कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष यमप्रसाद तिवारीको प्रस्तावलाई सभाले पारित गरेको उपाध्यक्ष सुरेन्द्र अधिकारीले बताउनु भयो ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तिवारीले संस्थामा शेयर सदस्यता बृद्धिलाई निरन्तरता दिने, नयाँ शेयर सदस्यलाई सहकारी तालिम प्रदान गर्ने र बाँकी विगतका कार्यक्रमलाई निरन्तरता दिने लगायतका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा बोल्दै संस्थाका शेयर सदस्य तथा काँग्रेसका युवा नेता विष्णु पोखरेल, शिक्षा उपसमितिका संयोजक ओमप्रकाश अर्याल, शेयर सदस्य गीता खनाल लगायतले भनाई राख्नुभएको थियो । साधारण सभामा संस्थाका शेयर सदस्य ओमप्रकाश अर्यालले विद्यावारिधिको उपाधी प्राप्त गर्नुभएकोमा सम्मान गरिएको थियो भने गत एसईई परीक्षामा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट भोजराज अर्यालका छोरा अभिशेक अर्याल र गायत्रीप्रसाद नेपालकी छोरी आयुशा नेपाललाई पुरस्कृत गरिएको थियो ।
साधारण सभामा अध्यक्ष तिवारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक शोभाखर काफ्ले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएको छ ।