ईलाका प्रशासन कार्यालय बुटवलमा रोकिएको मतदाता संकलनको काम सुचारु

585

ईलाका प्रशासन कार्यालय बुटवलमा रोकिएको मतदाता संकलनको काम सुचारु

ईलाका प्रशासन कार्यालय बुटवलमा रोकिएको फोटो सहितको मतदाता संकलनको काम आईतबारदेखि सुचारु भएको छ ।
आईतबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले फोटो सहितको मतदाता संकलन कार्यको लागि एक जना कर्मचारी थप गर्ने र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रचलित कानुन अनुसार गर्नेगरी सहमति बनेपछि आईतबारदेखि नै मतदाता संकलन गर्ने कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताउनु भयो ।
त्यस्तै राजनीतिक दलका प्रतिनीधिहरु नेकपा एमालेका बुटवल नगर समिति अध्यक्ष किशन ज्ञवाली, नेपाली काँग्रेस बुटवल नगर समितिका सचिव छायाँ पोखरेल, नेकपा माओवादी केन्द्रका पुष्पराज ढकाल र नेकपा एकिकृत समाजवादीका बुटवल अध्यक्ष चिनकाजी गुरुङलाई फोटो सहितको मतदाता नामावली संकलनमा सहजिकरण गर्न स्वयम् सेवक तोकिएको छ ।

यस अगाडि शुक्रबार राती फोटो सहितको मतदाता नामावली संकलन भईरहँदा एमालेले तालावन्दि गरेको थियो । त्यसपछि फोटो सहितको मतदाता संकलनको काम रोकिएको थियो । यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख भण्डारीले कर्मचारीले मतदाता नामावलीमा नाम लेखाउन आएका नागरिकको भिड रहेको जानकारी गराएपछि आफूले अनुमति दिएर उक्त काम भएको बताउनु भयो । बैठकमा नेताहरुले निर्वाचनका कार्मचारीले रातविरात नभनेर मतदाता संकलनको काम गरेको भन्दै कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
रुपन्देही जिल्लामा ६५ हजार बढी मतदाता थपिएका छन् । कार्यालय प्रमुख भण्डारीका अनुसार साउन १ दखि हालसम्म ६५ हजार भन्दा बढीले फोटो सहितको फारम भरेका हुन् । रुपन्देही जिल्लामा गत साउन सम्म ५ लाख ४५ हजार १३६ जना मतदाता थिए ।