एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्बिरोध

317

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्बिरोध

प्रमुख विपक्षी दल नेकपा एमाले रुपन्देहीको जिल्ला अध्यक्षमा तेजेन्द्र केसी निर्बिरोध निर्वाचित हुनु भएको छ । शुक्रबारदेखि जिल्ला सदरमुकाम भैरहवामा भएको एमाले रुपन्देहीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा केसी सहित सबै पदमा निर्बिरोध चयन गरिएको हो ।
अध्यक्षमा उम्मेदवारी दिएका मौजुदा समितिका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि केसी निर्बिरोध निर्वाचित हुनु भएको हो । जिल्ला अधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा केसीलाई प्रस्ताव गरेपछि त्यसमा असहमती जनाउँदै घिमिरेले अध्यक्षमा उम्मेद्वारी दिनुभएको थियो ।
उपाध्यक्ष पदमा तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरीदेवी चौधरी निर्वाचित हुनु भएको छ । सचिव पदमा यज्ञ गैरे, उपसचिव पदमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र भैरहवाका हितराज पन्थीलाई चयन गरिएको छ ।
अध्यक्ष मण्डलले केसीको नेतृत्वमा सर्वसम्मतको नाम प्रस्ताव गरेपनि अध्यक्ष पदमा घिमिरे र सचिव पदमा खेमप्रसाद लुईटेलले उम्मेदवारी दिनुभएको थियो । एमाले विभाजन अगाडि माधव नेपाल पक्षमा रहेका घिमिरे र लुईटेल दुबै जनाले उम्मेदवारी फिर्ता लिएपछि एमाले रुपन्देहीको १४६ सदस्यीय जिल्ला कमिटि र १५ सदस्यीय लेखा समिति निर्बिरोध भएको हो ।
एमाले रुपन्देहीको आठौं जिल्ला अधिवेशनमा पनि अध्यक्ष पदका दावेदार घिमिरेलाई तत्कालिन उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, जिल्ला ईञ्चार्ज लिला गिरीले नवौं अधिवेशनमा अध्यक्ष बनाउने सहमति सहित शिव सुवेदीलाई अध्यक्ष बनाएका थिए । पुरानो सहमति विपरित केसीलाई अध्यक्ष बनाएपछि घिमिरेले एमालेमा रहेर न्याय नपाउने अनुभूति भएको प्रतिक्रिया दिनुभएको छ ।