राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेद्वार बलिया

313

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेद्वार बलिया

राष्ट्रिय सभा सदस्यको रिक्त पदमा भोली (बुधबार) निर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशमा रिक्त ३ सिटको लागि ६ जना प्रतिस्पर्धामा छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा पनि संयुक्त उम्मेद्वार खडा गरेका छन् भने एमाले एक्लै भिडेको छ ।
गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा (एकिकृत समाजवादी)की राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलबहादुर बिकले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै एमालेको तर्फबाट रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेद्वारी दिएका छन् । भोली (बुधबार) बिहान ९ बजेदेखि चुनाव हुँदैछ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ जना छन् । त्यसमध्ये प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ छ ।
लुम्बिनी प्रदेशमा हाल ८१ प्रदेश सभा सदस्य छन् । त्यस्तै १०९ स्थानीय तह रहेको लुम्बिनीमा २१५ जना प्रमुख उपप्रमुख छन् ।
मतभार हेर्दा सत्ता गठबन्धन अगाडि देखिएको छ । लुम्बिनी प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेसको १९, माओवादी केन्द्रको १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (एस)को १ सांसद छन् । यसको मतभार २ हजार ११२ हुन्छ ।
त्यस्तै स्थानीय तहमा काँग्रेका ६३, माओवादी केन्द्रका ३६, जसपाको १३, जनमोर्चाको ५ र नेकपा (एस)का ४ प्रमुख उपप्रमुख छन् । यसको मतभार २ हजार १७८ हुन्छ ।
यता प्रमुख विपक्षी दल एमालेको प्रदेश सभामा ३६ र स्थानीय तहमा ८८ जना प्रमुख तथा उपप्रमुख छन् । उसको प्रदेश सभामा १ हजार ७२८ र स्थानीय तहमा १ हजार ५८४ मतभार देखिएको छ । यो अंकगणितका आधारमा सत्ता गठबन्धनका उम्मेदवार बलिया देखिएका छन् ।