स्थानीय निर्वाचन जेठमा गर्ने सहमति : एमसिसिका कारण सत्ता गठबन्धन टुट्ने संकेत

233

स्थानीय निर्वाचन जेठमा गर्ने सहमति : एमसिसिका कारण सत्ता गठबन्धन टुट्ने संकेत

सत्ता गठबन्धन दलको बिचमा स्थानीय तहको निर्वाचन आगामी जेठमा गर्ने सहमति भएपनि एमसिसि परियोजनाका कारण सत्ता गठबध्न टुट्ने संकेत देखिएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसि) पारित नगरे सत्ता गठबन्धन टुट्ने गठबन्धन दलका नेताहरुलाई चेतावनी दिनुभएको हो । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फेब्रुअरी १ सम्म परित नगरे अमेरिकाले फिर्ता लैजाने बताउँदै प्रधानमन्त्री देउवाले त्यो नभए सत्ता गठबन्धन तोड्ने चेतावनी दिनुभएको हो ।
शनिबार भएको सत्ता गठबन्धन दलहरुको बैठकमा चालु अधिवेशनबाट एमसिसि पारित गर्नै पर्ने वाध्यतामा आफू रहेको बताउनु भएको हो । बैठकमा सत्ता गठबन्धन दलका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की सहभागि हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चा भने बैठकमा सहभागि थिएन ।
संसदबाट एमसिसि परियोजना पारित गराउनको लागि अमेरिकाले फब्रुअरी १ सम्मको समय दिएको छ । बैठकमा स्थानीय तहको निर्वाचन आगामी जेठमा गर्ने सहमति जुटाएका देउवाले लगत्तै एमसिसि परियोजना पारित गर्न सहयोग गर्न अरु दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो । तर माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेताहरु यहि अवस्थामा एमसिसि पारित गर्न नसकिने भन्दै प्रधानमन्त्री देउवाको प्रस्तावमा सहमत भएनन् । आफ्नो प्रस्तावमा असहमती जनाएका अरु दलका नेताहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेस गर्ने अडान सहित मन लागे भोट हाल्न र मन नलागे नहाल्न चेतावनी दिनुभएको हो ।
सत्ता गठबन्धन संकटमा पर्ने देखिएपछि माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बेठक स्थगित गराएका छन् । १६ गते आईतबारलाई बोलाईएको संसद बैठक शनिबार साँझ नै सूचना टाँसेर १० दिन स्थगित गरेको हो । यहि बिचमा एमसिसि पारित गर्न अमेरिकाले दिएको अन्तिम म्याद फेब्रुअरी १ पनि गुज्रिन्छ ।
प्रमख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपि शर्मा ओलीले पनि सत्ता गठबन्धन तोड्ने सर्तमा एमसिसिमा सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । यद्यपी अहिले भने देउवा र ओली बिचमा यो विषयमा कुराकानी भईनभएको बुझिएको छ ।