लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले हल्लाको भरमा लुम्बिनी सरकार पनि परिवर्तन नहुने बताउनु भएको छ । यद्यपी केन्द्रमा हुने निर्णय प्रदेशमा कार्यान्वयन भने हुने बताउनु भयो ।
रिपोटर्स क्लवले बिहिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले सरकार परिवर्तन हुने अवस्था नभएको बताउनु भएको हो । उहाँले सत्ता गठबन्धन पनि कायम रहने दावी गर्नुभयो । उहाँले आफूहरुले भन्दा पनि प्रतिगमनको बिरुद्ध राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन भएकाले केन्द्रमा हुने निर्णय भने कार्यान्वयन हुने बताउनु भयो ।
प्रवक्ता शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसक्दा कयौं महत्वपूर्ण काम पनि रोकिएको बताउँदै सरकार सदन सुचारु गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले संसद सञ्चालन गर्नको लागि सरकारले विजनेशको तयारी गरिरहेको पनि बताउनु भयो ।
उहाँले एमसिसिले सत्ता गठबन्धनलाई केही प्रभाव नपार्ने दावी गर्दै एमसिसिलाई राष्ट्रको हितमा हुनेगरि परिमार्जन गर्नुपर्ने भनाई राख्नुभयो । कोरोना महामारीका बिच पनि प्रदेश सरकारले बिकासका योजनाहरु अगाडि बढाएको बताउँदै प्रवक्ता शर्माले ती योजना समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा संसद भवन तथा अन्य संरचना निर्माणको काम भईरहेकाले तत्कालै प्रदेशका संरचना नजाने भनाई राख्नुभयो ।