संसदको विजनेशलाई सभामुखले रोक्न मिल्दैन : एमाले सचिव ज्ञवाली

218

संसदको विजनेशलाई सभामुखले रोक्न मिल्दैन : एमाले सचिव ज्ञवाली

नेकपा एमालेका सचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले संसदको विजनेशलाई सभामुखले रोक्न नमिल्ने बताउनु भएको छ । एमसिसि संसदमा टेवल हुन पाउनु पर्ने र संसदमा टेवल भएपछि मात्रै एमालेले धारणा बनाउने बताउँदै उहाँले सभामुखले टेवल गर्ने बाटो रोक्न नहुने बताउनु भएको हो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले सभामुख अग्नीप्रसाद सापकोटाको भूमिका विवादास्पद भएको टिप्पणी गर्नुभयो । अमेरिकी सहयोग परियोजना एमसिसिलाई सत्तारुढ गठबन्धनले गिजोलेर विवादास्पद बनाएको बताउँदै उहाँले गठबन्धनमा आवद्ध दलका नेताले अमेरिकासंग एउटा कुरा गर्ने र नेपाली जनतासंग अर्को कुरा गर्ने प्रबृत्ति गलत भएको भनाई राख्नुभयो ।
एमालेले १४ सांसदलाई कारवाही गरेको सूचना नटासेकामा सभामुख सापकोटाले आत्मालोचना गरे संसद पुनःसञ्चालनको वातावरण बन्न सक्ने उहाँको भनाई छ । उहाँले स्थानीय निर्वाचनको मिति तत्काल तोक्न सरकारसंग माग गर्नुभयो ।