नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसि चुनाव पछि छलफल गर्न प्रस्ताव गर्नुभएको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपि शर्मा ओली सहितको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गर्नुभएको हो ।
प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली बिच आईतबार अपरान्ह बालुवाटारमा सम्वाद भएको थियो । सम्वादमा अध्यक्ष प्रचण्डले सामुन्यमा चुनाव रहेकाले चुनावसम्मको लागि एमसिसि सम्बन्धि छलफललाई स्थगित गरेर चुनाव पछि मात्रै सहमतिमा संसदमा पेस गर्ने प्रस्ताव गर्नुभएको हो ।
त्यस्तै उहाँले संसद सञ्चालनमा सहयोग गर्न पनि एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको एमाले महासचिव शंकर पोखरेलले जानकारी गराउनु भएको छ ।
छलफलमा प्रधानमन्त्री देउवाले भने तत्कालै एमसिसि पास गर्नुपर्ने भन्दै सहयोगको लागि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो । एमाले अध्यक्ष ओलीले भने सरकारले आफ्नो दृष्टिकोण बनाएपछि मात्रै एमालेले निर्णय लिने जवाफ दिनुभएको थियो ।
एमसिसिबारे देउवा र प्रचण्डले पठाएको र एमसिसि पास गर्ने समयसिमा बारे पठाएको जवाफी पत्र बाहिरिएपछि यस विषले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ ।