सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले जेठ ४ गतेलाई प्रस्ताव गरेको थियो । यद्यपी सरकारले बैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।
मन्त्रीपरिषद बैठक बस्नु अगाडि पनि सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसंग परामर्श गरेको थियो । निर्वाचन आयोगका पदाधिकारीहरुले बैशाख ३० मा चुनाव गराउन उपयुक्त हुने बताएका थिए । सोही अनुसार सरकारले बैशाख ३० गतेलाई स्थानीय निर्वाचनको मिति तय गरेको हो ।