वाणिज्य बैंकहरुले गरेको निक्षपको व्याजदर बढाउने सहमतिको नेपाल उद्योग वणिज्य महासंघ (एफएनसिसिआई) ले बिरोध गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले प्रेस विज्ञप्ती जारी गरेर वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले गरेको उक्त निर्णयको बिरोध गरेको हो ।
नेपाल बैंकर्स संघले बिहिबार मात्रै व्यक्तिगततर्फ मुद्धतीमा वार्षिक ११.०३ प्रतिशत, संस्थागत तर्फ निक्षपमा १०.३ प्रतिशत, बचत खातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत दिने निर्णय गरेको थियो ।
महासंघले निर्णयप्रति आपत्ति प्रकट गर्दै तत्काल स्थगन गर्न माग गरेको छ । असहज अवस्थामा गुज्रिरहेका उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने उल्लेख गर्दै यसले उद्योगी व्यवसायीलाई सडकमा आउने परिस्थिती उत्पन्न गराउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने भन्दै निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने महासंघको निष्कर्ष छ ।