एमसिसिमा एमालेको धारणा : सबै मित्रराष्ट्रको सहयोगलाई उत्तिकै महत्व दिन्छौं

211

एमसिसिमा एमालेको धारणा : सबै मित्रराष्ट्रको सहयोगलाई उत्तिकै महत्व दिन्छौं

अमेरिकी सहयोगमा आधारित एमसिसि परियोजना संसदबाट पास भईसकेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेदेखि नै कारवाही सिफारिस गरेका आफ्ना १४ सांसदको कारवाही कार्यान्वयन नगरेको भन्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ । एमालेको अवरोधका बिच यहि फागुन ८ मा संसदमा पेश भएको एमसिसि परियोजना संसद अवरोधकै बिच गत आईतबार अनुमोदन भएको छ ।
एमसिसि परियोजना माथि पार्टीको आधिकारिक धारणा राख्दै एमालेले कार्यान्वयनमा जोड दिएको छ । एमसिसि परियोजनालाई विगत तीन वर्षदेखि गलत मनसायले गिजोलिएको पनि पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बताउनु भयो । एमसिसि बिकास परियोजना भएको र संसदबाट अनुमोदन पनि भईसकेकोले मुलुकको प्रतिकुल नहुनेगरी कार्यान्वयनमा लैजानु पर्ने बताएको हो ।
‘एउटा सरकारले दातृराष्ट्र या निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण र प्रक्रियाविनै रद्द गर्ने हो भने त्यस्ता राष्ट्रप्रति विश्वासको सङ्कट उत्पन्न हुन्छ ।’ एमालेले भनेको छ–‘तसर्थ, राज्यका निकायहरुले विमर्श गरी, हाम्रो राष्ट्रिय आवश्यकता पूरा गर्न अनुरोध गरिएका, सम्झौता गरिएका परियोजनाहरुलाई जुन सरकारको नेतृत्वमा शुरु भएको भए पनि उत्तराधिकारी सरकारले निरन्तरता दिनुपर्ने सामान्य विधिप्रति हामी स्पष्ट छौँ ।’ त्यस्तै उसले सबै मित्र राष्ट्रहरुको सहयोगलाई उत्तिकै महत्व दिन्छौं पनि भनेको छ ।
एमालेले दुई देश बिचको सम्झौता एक पक्षिय रुपमा संशोधन गर्नु जनता झुक्याउने खेल भएको बताउँदै एमसिसिलाई गठबन्धन दलकै नेताहरु विवादित बनाएको उल्लेख गरेको छ । एमालेले तत्कालिन प्रधानमन्त्री ओलीलाई पदच्यूत गर्नको लागि मात्रै एमसिसिमा विवाद सुरु गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ–‘एमसीसी सम्वन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो ।’