अपाङ्ग व्यक्तिका ब्यवसायलाई उपेक्षा नगर्न आग्रह

119

अपाङ्ग व्यक्तिका ब्यवसायलाई उपेक्षा नगर्न आग्रह

बुटवल । अपाङ्गता भएका ब्यक्तिले सञ्चालन गरेका उद्योगहरु र ब्यवसायलाई उपेक्षा नगर्न सरोकारवालाहरुले जोड दिएका छन् । उनिहरुले बाच्नको लागि गरेको ब्यवसायलाई प्रोत्सान गर्न सरोकारवालाहरुले माग गरेका हुन् ।
द ल्याप्रोसी मिसन नेपालको फाउण्ड परियोजना बुटवलको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तथा नेपाल उद्योग बाणिज्य महासंघको समन्वयमा आयोजित स्वरोजगारीमा जोडिएका अपाङ्गता भएका ब्यक्तिहरुसंग अन्तरक्रिया तथा उत्प्रेरणा अभिवृद्धि कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले अपाङ्गता हुदैमा जिवनमा केही गर्न सकिन्न भन्ने सोचलाई चिर्दै रोजगारी र स्वरोजगार समेत बन्न सकिने भएकोले हिम्मतले काम गर्न आग्रह गरे । उनले अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका ब्यवसायलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर भएको समयमा नकारात्मक सोचहरु र क्रियाकलाप हुने बताउँदै स्वरोजगार बन्ने र स्वरोजगार बन्न सिकाउने कार्यको प्रशम्सा गरेका थिए । उनले अपाङ्गता भएका ब्यक्तिहरुका जुनसुकै ब्यवसाय नितान्त जिवनयापनको लागि मात्रै गरिएको बताउदै सक्दो सहयोग गर्नुपर्ने बताए । उनले आवश्यक सहकार्यको लागि प्रदेश सरकार तयार रहेको पनि बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले आफ्नो खर्च आफ्नै चलाउन सक्ने बाताबरण फाउण्ड परियोजनाले बनाएको भन्दै अपाङ्गता भएका ब्यक्तिहरुका ब्यवसायीलाई सहयोग गर्नुपर्ने बताए ।
हात खुट्टा कमजोरी भएर अपाङ्गता भएका रुपन्देहीको सुद्धोधन गाउपालिका २ का नारायण मरासिनीले झोल साबुन उत्पादन एव बिक्रि बितरण गर्दै आएको बताउदै अपाङ्ग भएकै कारणले बजारमा प्रतिस्पर्धा गर्न नसकेको गुनासो गरे ।
उनले उत्पादित सामाग्री बिक्री बितरण गर्न एक्लै काम गाह्रो भएको गुनासो गरे । उनले हाल एक साङ ब्यक्तिलाई रोजगारी दिएको बताए । अपाङ्गले ल्याएको समाग्री भन्दै कहिले काहीँ नराम्रो व्यवहार सहनु परेको बताउदै यो कार्यको अन्त्य हुनुपर्ने बताए । उनले यो कार्य अब सहन नपर्ने बाताबरण बनाउन आग्रह गरे ।
यता बुटवल उपमहानगरपालिका १४ का दृष्टिबिहिन टंक सुनारले आफुले अगरबत्ती, हार्पिक तथा झोल साबुन मात्रै उत्पादन गर्ने बताउँदै यसले ब्यवसाय अगाडि बढ्न नपाएको गुनासो गरे । उनले अन्य सामाग्रीहरु पनि उत्पादन गर्न पाएमा बिक्रि बढ्ने बताए । उनले अपाङ्गले सपाङ सरह काम गर्न सक्ने भएकोले विभेद अन्त्य हुनुपर्ने बताए ।
फाउण्ड परियोजनाका ब्यवसाय बित्त अधिकृत रमेश पोख्रेलले ले फाउण्ड परियोजनाले गरेका कामहरुको बारेमा जानकारी गराउदै बेरोजगार अपाङ्गता भएकालाई रोजगारी र स्वरोजगारमा ब्यवस्थापनको कामहरु गरिरहेको बताए । उनले सम्मानजनक जिवनयापनका लागि ब्यवसाय गर्न आग्रह गरे ।
रुपन्देही र कपिलवस्तु कार्यक्षेत्र रहेको फाउण्ड परियोजनामा अहिले सम्म ६ सय ४७ जना अपाङ्गता भएका व्यक्तिहरू जोडिएको फाउन्डेसनका बुटवल क्लसटर म्यानेजर राम दयाल यादबले जानकारी दिए ।
परियोजनाका ब्यवसाय बित्त अधिकारी ढाकाराम अधिकारीले परियोजनामा जोडिएका मध्य ९३ जनालाई विभिन्न तालिम, २५ जनालाई कार्यस्थलमा तालिम दिइएको बताए ।
परियोजनामा जोइएका मध्य ७६ जनालाइ औपचारिक रोजगारी, १ सय २५ जनालाई स्वरोजगार तथा १७ जनालाई आवश्यक सामाग्री तथा उपकरण प्रदान गरिएको परियोजनाकी रोजगार परामर्श अधिकृत राधा अधिकारी भट्टराईले जानकारी दिइन । उनले अहिले सम्म १०९ रोजगारदाता परियोजनासंग जोडिएको जानकारी दिदै ५६ रोजगारदाताले रोजगार प्रदान गरेको जानकारी दिइन ।