नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरले राज्यका प्रत्येक निकायमा महिलाको सम्मानजनक सहभागितामा जोड दिनुभएको छ । मुलुकको विकास र समृद्धिको लागि पनि त्यो अपरिहार्य रहेको बताउनु भयो ।
नेपाल महिला संघ स्वर्गद्वारी नगरपालिका प्युठानले आयोजना गरेको स्थानीय निर्वाचन र महिला सहभागिता विषयक बहस कार्यक्रममा पूर्व सांसद समेत रहेका प्रदेश सभापति पुनले स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न संरचनामा महिलाहरुको समानुपातिक सहभागिता गर्नसकेमात्रै समृद्धिको यात्रा अगाडि बढ्ने बताउनु भएको हो ।
नेपालका परिवर्तनको आन्दोलनमा महिलाहरुको अतुलणीय योगदान भएको बताउंदै उहाँले क्षमता र प्राथमिकताको आधारमा महिलाहरुलाई उपयुक्त जिम्मेवारी दिनु पर्नेमा जोड दिनुभयो । महिलाहरुको हक र अधिकारको सुनिश्चितताका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउँदै उहाँले नेपालको संविधानले पनि महिलाको धेरै अधिकार प्रदान गरेको स्मरण गर्नुभयो ।
नेपालमा महिलालाई शिक्षाको पहँुच, विद्यालयमा महिला शिक्षिका, महिला स्वयमसेविका लगायतका थुप्रै कार्यक्रम कांग्रेसकै अगुवाईमा भएको बताउँदै सभापति पुनले प्रत्यक स्थानीय तहमा कांग्रेसको विजय हुने गरि निर्वाचनमा होमिन नेता तथा कार्यक्रताहरुलाई निर्देशन पनि दिनुभयो ।