रुपन्देहीको शंकरनगरकी अमृता मृत्यु प्रकरण : आन्दोलनकारीमाथि प्रहरीको लाठी

263

रुपन्देहीको शंकरनगरकी अमृता मृत्यु प्रकरण : आन्दोलनकारीमाथि प्रहरीको लाठी

रुपन्देहीको शंकरनगरमा भएको अमृता मृत्यु प्रकरणलाई लिएर धर्ना दिन आएका आन्दोलनकारीलाई बुटवलमा प्रहरीले लाठी चार्ज गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरमा बुधबार राती २९ वर्षीय अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको थियो । सोही विषयलाई लिएर छोरी अमृताको हत्या भएको दावी सहित आफन्त र माईती पक्षले ईलाका प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका थिए । त्यसक्रममा आन्दोलनकारी र प्रहरी बिच केहीबेर दोहोरो झडप भएको थियो ।
अमृता मृत्यु प्रकरणमा सत्यतथ्य छानविन गरी दोशीलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गरेको लाठीचार्जमा पत्रकारहरु पनि परेका छन् । त्यसक्रममा पत्रकारहरुलाई समेत प्रहरीबाट अभद्र व्यहार गरिएको उनीहरुले बताए । प्रदर्शनमा सहभागिहरुले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड सहित नारावाजी गरेका थिए ।

माईत (जानकीनगर) गएकी अमृतालाई श्रीमान प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नवित्दै मृत्यु भएकोले उनको हत्या भएको माईती पक्षको दावी छ । मृतक अमृताका दाई पुष्पकका अनुसार उनी साढे आठ बजेति घर गएकी थिइन् । घर गएपछि अमृताले आफूलाई बचाउन भन्दै साढे ९ बजे दाईलाई मोवाईलमा म्यासेज गरेकी थिईन् । त्यसपछि माईती पक्ष सोधीखोजीमा लागेको थियो । सवा १० बजेतिर ज्वाई प्रेमले फोन गरेर अमृता बिरामी परेकाले अस्पताल आउन भनेका थिए । आफूहरु अस्पतालमा पुग्दा अमृताको मृत्यु भईसकेको जानकारी प्राप्त भएको दाई पुष्पकले बताउनु भएको छ ।
उक्त हत्यामा श्रीमान प्रेम मात्रै नभएर घरका अन्य परिवारको पनि मिलेमतो रहेको आरोप उनीहरुको छ । प्रेमको परिवारमा आमा, वुवा तथा अमृता र ५ वर्षीय छोरा थिए । अमृतालाई घरपरिवारले भारत जान दवाव दिएको र आफूलाई षड्यन्त्र गरेर मार्ने योजना बनाएको आशंका गरि उनी माईत गएकी थिईन् । तर श्रीमान् प्रेमले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी राति नै घर फर्केको आमा सावित्राको भनाई छ । अमृताका मृत्युपछि आक्रोसित माईती पक्षले प्रेमको घरमा ढुङ्गा मुढा समेत गरेका थिए ।
माईती पक्षको जाहेरी पछि प्रहरीले मृतक अमृताका श्रीमान प्रेम, सासु र ससुरालाई पक्राउ गरेको छ । उनीहरु माथि अनुसन्धान सुरु भईसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।