बुटवलका मेयर उम्मेदवार पाण्डेयद्वारा प्रथम सहिद लखन थापाको शालिकमा माल्यार्पण

107

बुटवलका मेयर उम्मेदवार पाण्डेयद्वारा प्रथम सहिद लखन थापाको शालिकमा माल्यार्पण

बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गर्नुभएको छ । सोमबार बुटवलमा घरदैलो सुरु गर्नु अगाडि मेयर उम्मेदवार पाण्डेले चौराहामा रहेको सहिद थापाको शालिकमा माल्यार्पण गर्नुभएको हो ।
नेता कार्यकर्ताको साथमा बिहानै लखन चोकमा पुग्नु भएका पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यणपण गर्दै श्रद्धासुमन ब्यक्त गर्नुभयो । नेपालका प्रथम शहिदलाई सम्मान गर्दै पाण्डेयले घरदैलो कार्यक्रमको सुरुवात गर्नुभएको हो । सहिदको योगदानले गर्दा देशमा परिवर्तन आएकाले सहिदको सम्मान गर्नु आफ्नो कर्तव्य भएको बताउनु भयो ।
देशमा जहानीया राणा शासनका विरुद्ध आवाज उठाउँदा लखन थापा मगर सहिद भएको स्मरण गर्दै अहिलेको परिवर्तन ल्याउनको लागि सहिदहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । लखन थापा नेपालको प्रथम सहिद भएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपि ओलीले प्रथम सहिदको बारेमा भ्रम छर्ने काम भएको भन्दै दुःख व्यक्त गर्नुभयो । यस अगाडि एमाले अध्यक्ष ओलीले लखन थापा नेपालको प्रथम सहिद नभएको बताउनु भएको थियो । ओलीको उक्त अभिव्यक्तिलाई लिएर मगर समुदायले त्यसको विरोध गरेको थियो भने नेपाल मगर संघ रुपन्देहीले त्यसको विरोधमा लखन थापाको शालिक अगाडि एमाले अध्यक्ष ओलीको पुत्ला जलाएका थिए ।