‘शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विकास सहित तिलोत्तमालाई भ्रष्टाचारमुक्त गर्नेछु’

95

‘शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विकास सहित तिलोत्तमालाई भ्रष्टाचारमुक्त गर्नेछु’

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकामा प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विकासप्रेमी, स्वच्छ छवि र इमान्दार नेता खाँणले जनतालाई भेटेर तिलोत्तमाको विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि छलफल गरिरहनु भएको छ । आफ्ना योजनाहरु सुनाउँदै ती योजना पूरा गर्न रुख चिन्हमा भोट दिएर जिताउन अपील गरिरहनु भएको छ । नेपाली काँग्रेसको राजनीति गरेपनि आम जिल्ला बासीकालागि परी आउदा साझा नेताको रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उहाँ रुपन्देहीको राजनीतिक बृत्तमा लोकप्रिय हुनुहुन्छ । २०२२ सालमा रुपन्देहीको मणिग्राममा जन्मिएका नेता खाँणको परिवार १०१७ सालमा स्याङजाबाट रुपन्देही झरेको हो । उहाँ गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणका भाइ हुनुहुन्छ ।
उहाँका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बाल्यकालमा २०३५ सालदेखि नै उनी बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लाग्नु भएको थियो । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष हुनुभयो । २०५४ सालमा नेपाली काँग्रेस रुन्पन्देहीको जिल्ला कार्यसमिति सदस्य, २०६६ सालमा जिल्ला सचिव भए । हाल उनी काँग्रेस रुपन्देहीको सभापती हुनुहुन्छ । बिगत चार दशक देखि रुपन्देहीमै रहेर राजनीति संगसगै बिभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध भइ जिल्ला बासीको सेवामा निरन्तर खटिएका खाँणले यसपाली तिलोत्तमा नगरपालिकालाई सुशासन युक्त,हिंसामुक्त,सुन्दर,हरियाली र विकसित नगर बनाउने योजना सहित नगर प्रमुखको उम्मेदवार बन्नु भएको छ । मेयरका उम्मेदवार खाँणसंगको कुराकानी ।

अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ, आम जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाका नागरिकको घरघरमा जाँदा उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । नेपाली कांग्रेस र गठबन्धनको उम्मेदवारलाई जिताउनुपर्छ, हामी जिताउछौं भन्नुहुन्छ । उहाँहरुको यस्तो प्रतिक्रियाले हामी चुनाव जित्नेमा पूर्णतः विश्वस्त छौ । खासगरी संघ, प्रदेश र स्थानिय तहमा नेकपा एमालेको सरकार हुदाँ पनि राम्रो काम गर्न सकेन । जनतासामु गरेका प्रतिबद्धताहरु पूरा गर्न सकेन । बहुमत पाउँदा पनि एमाले अध्यक्ष केपी ओलीले तिन वर्ष सरकार नै चलाउन नसकेको र संसद विघटन गरेको, पार्टी समेत चलाउन नसकेको जस्ता कामले जनतामा निराशा छाएको छ । यसले मुलुकलाई नै अधोगति तर्फ लैजान्छ र यस्ता व्यक्ति र पार्टीलाई स्थान दिनुहुन्न भन्ने जनताको भनाइ छ ।
संविधान नै संकट पार्न खोज्नेगरी एमाले अध्यक्ष केपी ओलीले गरेका कामहरुको भण्डाफोर गर्नुपर्छ र त्यो पार्टीलाई सबै मिलेर हराउनुपर्छ भन्ने कुरा पनि जनताले हामीलाई सुनाउनु भएको छ । अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकै कारण संविधानको रक्षा भएको, मुलुकमा स्थीरता कायम रहेको जनताले नगरबासीले बुझनु भएको छ । जनतालाइ झुटा आश्वास मात्रै बाँडने तर देश र जनताको हितमा काम नगर्ने एमाले प्रवृत्तिलाइ हराउन यसपाली गठबन्धनले जित्नु पर्छ काँग्रेसले जित्नु पर्छ भन्ने नगरबासीको मत छ ।
कांग्रेस प्रतिको जनताको विश्वास, भरोसा र लगाव नै सबैभन्दा ठूलो कुुरा हो । कांग्रेसले सत्तामा हुँदा को कुन पार्टीको मान्छे हो भनेर व्यवहार गर्दैन, सबैलाई नागरिकको हैसियतमा समान व्यवहार गर्छ, यो पनि कांग्रेसको राम्रो पक्ष हो भन्ने कुरालाइ धेरै राजनीतिमा सक्रिय नदेखिनु भएका मतदाताहरुले पनि बुझनु भएकाले उहाँहरुले पनि हामीलाइ मत दिन्छौं तर एमालेले जस्तो नगर्नु जनता नझुक्याउनु, भ्रष्टाचार नगर्नु होला भन्नु भएको छ र हामील्े पनि उहाँहरुको आर्शिवाद लिएर उहाँहरुकै साझा जनप्रतिनिधि बन्ने प्रतिवद्धता गरेका छौं ।

तपाइँको उम्मेदवारी के का लागि ?

म तपाइँमार्फत तिलोत्तमाबासीलाई के कुरा भन्न चाहन्छु भने, हामी तिलोत्तमाबासी वास्तवमा यो ५ वर्षमा जे जति काम हुनुपर्ने थियो भएन । जनतालाई प्रत्यक्ष लाभ हुने कामहरु भएनन् । संघीय सरकारले बनाएको मुख्य सडक सिँगार्ने र त्यसैको प्रचार गरेर प्रशंसा कमाउने काम भए । तिलोत्तमाका समस्या के हुन्, जनताको आवश्यकता र प्राथमिकता पहिचान नै गरीएन । सरकारी रकममा चरम भ्रष्टाचार भयो । जनतालाई भ्रममा पार्न प्रचारमुखी काम भए । सानातिना केही राम्रा काम पनि भए होलान् । तर ती कामले जनतालाई कुनै लाभ भएन ।
म धेरै आलोचना गर्न चाहन्न तर तपाइँ महालेखा परीक्षकको कार्यालयको रिपोर्ट हेर्नुस्, कस्ता कस्ता काममा बजेट खर्च भएको छ ? के ती तिलोत्तमाबासीका लागि महत्वका काम थिए ? तिलोत्तमामा बिरामी भए उपचार गर्ने एउटा सरकारी अस्पताल छैन, भित्री सडकको बेहाल छ, सरकारी जग्गा जमिन मनपरी बाँडिएका छन । भएका कुलो नहरहरु अतिक्रमण भइरहेको छ । तिलोत्तमा बाहिरबाट हेर्दा शहरजस्तो देखिएपनि भित्री बस्तीहरु अझै पनि ग्रामीण अवस्थाकै छन् । एकदमै पूराना बस्तीहरु छन् । त्यहाँ बाटो खानेपानी जस्ता आधारभुत विकास पुग्न सकेको छैन । ती बस्ती र राजमार्ग क्षेत्रको समानुपातिक विकास जरुरी छ । राजमार्ग क्षेत्रमा शहरी खालको वातावरण जरुरी छ भने भित्री वस्तीमा स्थानीयको भावनाअनुसारको विकास जरुरी हुुन्छ । त्यसअनुसारका योजना जरुरी छन् ।
अर्को कुरा तिलोत्तमालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने मेरो प्राथमिकता रहनेछ । यो नगरलाई समानुपातिक ढंगले विकास गर्दै व्यवस्थित, समृद्ध नगर बनाउने, औद्योगिक क्षेत्रको विकास गर्ने, आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गर्ने, जनतालाई सुशासनको अनभूति दिलाउने जस्ता काम मेरो प्राथमिकतामा पर्नेछन् । स्वास्थ्य, शिक्षा, रोजगारी, सिंचाईजस्ता क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम ल्याउनेछ । अरु, स्थानीय सरकारका अधिकार र क्षेत्रअनुसारका काममा हामीले जोड दिनेछौं । मैले नगरपालिकाबाट सेवासुविधा लिनेछैन, मैले पाउने सेवा सुविधा वापत्को रकम मैले अनाथ, असहाय, विपन्न वर्गका बालबालिका र तिनको शिक्षाका लागि खर्च गर्नेछु । अहिले नगरपालिकामा ५० करोड बेरुजु छ । कैयौं बेथिति छ । मनपरी छ । त्यसलाई चिर्नका लागि पनि म कटिबद्ध भएर लाग्नेछु ।

तपाइँले जित्ने आधार के हुन् ?

म यहाँ दोश्रोपटक चुनाबी मैदानमा छु । यसअघि मैले चुनाबका क्रममा गरेका वाचा पूरा गर्न मैले चुनाब नजिते पनि प्रयास गरेँ । जनताका समस्या समाधानका लागि प्रयत्न गरेँ । नगरपालिकामा जितेर गएका साथीहरुले बजेटको छेलोखेलो बाहेक अरु केही गर्नुभएन । सरकारी श्रोतसाधन वितरणमा पनि न्याय गर्नुभएन । उहाँले तिलोत्तमाका सबै बासिन्दालाई एउटै दर्जा दिनु भएन । नगरपालिकाको कुर्सीमा बसेर नगरबासीलाई हेर्ने दृष्टिकोण र दर्जा फरक फरक हुनुहुँदैन । त्यसो हुन सकेन ।
पाँचवर्षसम्म हामी प्रतिपक्षमा बस्यौं, तर हामीले नगरलाई रचनात्मक सहयोग गरेका थियौं । राम्रा कुरामा समर्थन पनि ग¥यौं । गलत कुराको विरोध ग¥यौं । म जनताकै साथमा छु । आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि,युवा खेलकुद, कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छौं । हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइनेछ । जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिने योजना ल्याएका छौं । अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाइ ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोत्तमा नगरको भूमीहिन समस्या पूर्णरुपमा निवारण गरिनेछ । वैदेशिक रोजगारीमा रहनु हुने तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरुमा डलर पठाएमा प्रति १ हजार डलरमा रु. १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने छ ।
जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोजभतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइनेछ । कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइनेछ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिनेछ । तिलोत्तमाबासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्याहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउदै तिलोत्तमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिनेछ । यस्ता धेरै कार्यक्रम र योजनाहरु छन् । हामीेले घोषणापत्रमा यी सबै कार्यक्रमहरु कसरी गर्छौं भन्ने कुरा उल्लेख गरेका छौं । यी नै हाम्रा आधार हुन् । हामीले जित्ने आधार जनता हुन् । जनताको चाहना यसअघि पूरा भएका छैनन् । ती पूरा गर्नका लागि हामीले चरणबद्ध योजना ल्याएका छौं । यी योजनामा विश्वास गरेर हामीलाई जनताले मत दिनुहुनेछ र जित हासिल गछौं । यो जित जनताकै हुनेछ ।

तपाइँ नेपाली कांग्रेसको सभापति पनि हुनुहुन्छ । रुपन्देहीको निर्वाचन परिचालन कसरी भएको छ ? नतिजा कस्तो आउँछ ?

सबै नेपाली जनतालाइ थाहा छ कि, अहिले मुलुकमा गठबन्धन सरकार छ । यो सरकार बन्नुको कारण पनि थाहा छ । एमालेका अध्यक्ष केपी शर्मा ओेलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेपछि पाँचदल त्यसका विरुद्धमा सर्वोच्च अदालत गए । पाँच दलको सहमतिअनुसार सर्वोच्चसँग केपी ओलीको सरकार अपदस्त गर्दै पाँच दलमध्ये कांग्रेसका सभापतिको नेतृत्वमा सरकार निर्माणको माग गरिएको थियो । यसैअनुसार सर्वोच्चको आदेश आयो र पाँच दलको सरकार बन्यो । केही साथीहरु यसको अपब्याख्या गर्नुहुन्छ, अदालतले बनाएको सरकार भनेर ।
वास्तवमा नेपालमा व्यक्ति वा दलको होइन कानूनी राज छ भन्ने पुष्टि भएको दिन हो त्यो । साथीहरुले यतिसम्म भ्रम छर्नुहुन्छ कि अदालतमा मुद्दा दिँदा अदालतले या त त्यो माग कानुनअनुसार सही छ भनेर आदेश गर्छ या त मुद्दा खारेज गर्छ । कानुनअनुसार पाँच दलले गरेको माग सही देखियो, त्यसैले हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्यो । यो कुरा मैले किन भनिरहेको छु भने यही कुरा नै गठबन्धन बन्ने आधार थियो । त्यही आधारमा टेकेर हामी संकट उन्मुख भएकोे मुलुकलाई संकटबाट बचाउन पाँच दल एकैठाउँमा आउनुपरेको हो । यो हाम्रो चाहना भन्दा पनि मुलुकको आवश्यकताले बनेको हो । यस्तो गठबन्धन स्थानीय निर्वाचनमा पनि कायम रहेको छ । केही स्थानमा साथीहरुको चाहना र आवश्यकताले गठबन्धन भन्दा बाहिरबाट पनि मैत्रीपूर्ण रुपमा प्रतिस्पर्धा भएको छ । यसलाई हामीले सहज रुपमै लिएका छौं, मैत्रीपूर्ण रुपमै प्रतिष्पर्धा कायम रहेको छ । रुपन्देहीमा गठबन्धनले सबैजसो स्थानीय तहमा जित हात पार्छ । कुनै तहमा केही दलहरु एक्लै चुनाबमा भएपनि गठबन्धनमै सहभागी दलहरुमध्येबाटै विजयी हुनेछन् । त्यसमा हामी विश्वस्त छौं । अर्को, कुरा रुपन्देहीको निर्वाचन परिचालनका लागि गाउँनगरस्तरमा निर्वाचन परिचालन समितिहरु बनेका छन् । जिल्ला समितिले पनि ती समितिहरुसँग समन्वय गरिरहेको छ । निर्वाचन उत्साहजनक छ र नजिता पनि उत्साहजनक नै आउने छ ।

तपाइँलाई विपक्षीहरुले पर्यटक उम्मेदवार भनिरहेका छन्, किन यस्तो प्रचार भइरहेको छ जस्तो लाग्छ ?

मैले पनि कताकता यो कुरा सुनेँ । एकदमै नराम्रो लाग्यो । वास्तवमा साथीहरुलाई म के अनुरोध गर्न चाहन्छु भने म विरुद्ध प्रचार गर्ने अरु कुरा केहीपनि नभएर यस्तो कुप्रचार गर्ने दुस्साहस नगर्नुस् । म कहाँ जन्मे, कहाँ हुर्के भन्ने कुरा तिलोत्तमाबासीलाई थाहा छैन र ? मेरो घर मणिग्राम ४ नम्बर ज्योतिनगरमा छ । मेरा बुवाआमा म जन्मिनुभन्दा अघि नै यहाँ आउनुभएको हो । म यहीँ आएपछि जन्मिएको हुँ । मेरो घर नै यहीँ छ । अरुले के भन्छन् भन्ने कुराको पछि लाग्दिन । यहाँका बासिन्दालाई सबै थाहा छ । साथीहरुले हाम्रो चुनाबी अभियानबाट आत्तिएर अरु कुनै मुद्धा नपाएर यसरी दुष्प्रचार गरेका छन् । तर, त्यस्ता भ्रामक प्रचारले खास अर्थ राख्दैन । जनताले सही गलत छुट्याउन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

अन्तमा, आम नगरवासी र मतदातालाई हाम्रो मिडिया मार्फत के सन्देश दिन चाहनुहुन्छ ?

आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनी आम मतदाता सम्पूर्णमा विशेष अनुरोध र आग्रह गर्न चाहन्छु यसपटक मलाइ आफ्नो मत दिएर जिताउनुस् । यो जित तपाइँकै जित हुनेछ । तपाइँको गाउँनगरकै एउटा नाति, छोरा, दाजु, भाई, काका चुनाबमा होमिएको छ भन्ने सम्झेर मलाइ रुख चिन्हमा छाप लगाइ मत दिनुस भन्न चाहान्छु । मलाई जिताएपछि पनि म तपाइँको नाति, छोरा, काका, दाजु भाइ नै रहनेछु । तपाइँसँगै रहनेछु । म शासकको रुपमा नगरपालिकामा बस्नेछैन । तपाइकै सेवामा केन्द्रित छु र हुनेछु र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने छु । तिलोत्तमा नगरपालिकालाई पश्चिम नेपालकै सुन्दर, सुशासन युक्त, हिंसा मुक्त, आर्थिक र समृद्ध नगरको रुपमा विकास गर्न निस्वार्थ भएर लाग्ने छु ।
यसअघि धेरै पटक एउटै पार्टीलाइ हेर्नुभयो तर उनीहरुले सत्तामा गएपछि जनतालाई सम्झेनन् । आफु र आफना सीमित व्यक्तिको वृत्ति विकासमा लागे । त्यसैले यो पटक नेपाली काँग्रेसलाई र गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार म रामकृष्ण खाँणलाई अमुल्य मत दिएर नगरपालिका राम्रो बनाउने मौका दिनुहोस् । हामीले तपाइहरुको चाहना अनुसार नै काम गर्नेछौं । खानेपानी, सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौ । हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासनहरु बाँडदैनौं । तर जे बोल्छौ त्यो गरेर देखाउँछौं । अरु थुप्रै महत्वपूर्ण र नगरका लागि आवश्यक योजनाहरु म सँग छन्, तीनको कार्यान्वयन गरेर तिलोत्तमा नगरपालिकालाई देशमै उत्कृष्ट भ्रष्टचारमुक्त र सुशासनयुक्त नगरपालिका बनाउने मौका दिनुहोस् भन्न चाहान्छु ।