बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित खेलराज पाण्डेयले बुटवल नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने बताउनु भएको छ । उहाँले आफूलाई बुटवलको मेयरमा निर्वाचित गराएकोमा बुटवलका मतदाताप्रति आधार व्यक्त गर्दै जनताको साथ र भरोसाको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेयर पदमा निर्वाचित भएपछि आफ्ना योजनाको बारेमा संक्षिप्त कुराकानी गर्दै उहाँले मतदाता र आफूलाई विजयी बनाउनको लागि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नवनिर्वाचित मेयर पाण्डेयले बुटवल नगरपालिका भित्रै सबै राजनीतिक दल र संघसंस्थाहरुको लागि छुट्टै कक्ष निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुयो । ‘मैले नगरपालिकामा राजनीतिक दलहरु र सामाजिक तथा व्यवसायिक संघसंस्थाहरुको लागि छुटै कक्ष बनाउने छु ।’ उहाँले भन्नुभयो–‘त्यहाँ सबै आउनुहुनेछ, बुटवललाई कस्तो बनाउने भन्ने सुझाव दिनुहुनेछ ।’
उहाँले सबैको सझावलाई समेटेर अगाडि बढने पनि प्रतिवद्धता दोहो¥याउनु भयो । त्यस्तै ईतिहासलाई जिवन्त बनाउनको लागि बुटवल नगरपालिकाभित्र विपि, पुष्पलाल र बुटवलका पूर्वमेयर सुर्यप्रसाद प्रधानको सालिक बनाउने बताउनु भयो ।
उहाँले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क–चिडियाखोला सडकलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसमा पहिलो प्राथमिकता रहेको बताउनु भयो । त्यस्तै ज्योतिनगर, लक्ष्मीनगर पहिरोको समस्या समाधानको लागि तत्काल पहल थाल्ने प्रतिवद्धता गर्नुभयो ।
तिनाउ–दावन कोरिडोरबाट विस्थापित भएकालाई व्यवस्थापन र मोतिपुर औद्योगिक क्षेत्रको समस्या समाधान पनि आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । बुटवलको खानेपानीको समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानको लागि प्राथमिकताको साथ काम गर्ने बताउनुभयो ।