१६ पालिका रहेको रुपन्देहीमा १३ पालिकाको परिणाम आयो : तीन वटामा गणना हुँदै

248

१६ पालिका रहेको रुपन्देहीमा १३ पालिकाको परिणाम आयो : तीन वटामा गणना हुँदै

१६ स्थानीय तह (पालिका) रहेको रुपन्देही जिल्लाका १३ वटा पालिकाको मतपरिणाम आएको छ भने ३ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । जिल्लाको मध्येभागमा रहेको तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मत परिणाम आउन बाँकी रहेको हो । ती नगरपालिकामा मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतपरिणाम आएका १३ पालिका मध्ये ८ वटामा नेपाली काँग्रेस, तीन वटामा एमाले र एक एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् । मत गणना हुँदै गरेका तिलोत्तमा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा काँग्रेस अगाडि छ भने कोटहीमाई गाउँपालिकामा एमाले अगाडि छ ।
८ पालिका जितेको काँग्रेसले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मायादेवी गाउँपालिका जितेको हो ।
त्यस्तै एमालेले देवदह नगरपालिका, ओमसतीया गाउँपालिका र गैडहवा गाउँपालिका जितेको छ । जनता समाजवादी पार्टीले रोहिणी गाउँपालिका र जनता प्रगतिशिल पार्टीले मर्चवारी गाउँपालिकामा जित निकालेका छन् । रुपन्देही जिल्लामा माओवादी र नेकपा एकीकृत समाजवादी शुन्य भएका छ ।
काँग्रेसले जितेको बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेय र उपमेयरमा एमालेकी साबित्रा अर्याल, सैनामैना नगरपालिकामा फाणेन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना, तथा सिद्धार्थनगर नगरपालिकाको मेयरमा ईस्तियाक अहमद खान र उपमेयरमा एमालेकी उमा अधिकारी निर्वाचित हुनु भएको छ ।
त्यस्तै काँग्रेसले जितेका गाउँपालिकाहरु सुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा एमालेकी शान्तादेवी चौधरी, सियारी गाउँपालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा पनि काँग्रेसकै तारा थारु, कञ्चन गाउँपालिकामा नवराज ढकाल र उपाध्यक्षमा काँग्रेसकै मौषमी थापा, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा विनोदप्रसाद श्रीवास्तव र उपाध्यक्षमा काँग्रेसकै कुमारी प्रियंका शाही तथा मायादेवी गाउँपालिकाको अध्यक्षमा ध्रुवनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदादेवी उपाध्यायमा निर्वाचित हुनु भएको छ ।
त्यस्तै एमालेले जितेको देवदह नगरपालिकाको मेयरमा ध्रुव खरेल र उपमेयरमा पनि एमालेकै विद्यालक्ष्मी गुरुङ, ओमसतीया गाउँपालिकाको अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा काँग्रेसकी सुनिता चौधरी तथा गैडहवा गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पौड्याल र उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल विजयी हुनु भएको छ ।
रोहिणी गाउँपालिका जितेको जनता समाजवादी पार्टीबाट अध्यक्षमा विद्याप्रसाद यादव र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार तथा मर्चवारी गाउँपालिका जितेको जनता प्रगतिशिल पार्टीबाट अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा सोही पार्टीकी आशा सिंह निर्वाचित हुनुभएको छ ।