पाल्पाका दश पालिका : ६ वटामा एमाले, ३ वटामा काँग्रेस र एउटामा माओवादी केन्द्र विजयी

217

पाल्पाका दश पालिका : ६ वटामा एमाले, ३ वटामा काँग्रेस र एउटामा माओवादी केन्द्र विजयी

पाल्पाका दश पालिकामध्ये ६ वटा पालिकामा एमालेले जितेको छ । त्यस्तै नेपाली काँग्रेसले ३ वटा र माओवादी केन्द्रले एउटा पालिकामा जितेको हो । दुई नगरपालिका रहेको पाल्पामा दुबै नगरपालिका नेपाली काँग्रेसले जितेको छ ।
६ वटा पालिका जितेको एमालेले बगनासकाली, तिनाउ, माथागढी, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकामा जितेको हो ।
त्यस्तै नेपाली काँग्रेसले तानसेन र रामपुर नगरपालिका सहित रैनादेवी छहरा गाउँपालिकामा जितेको छ । माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिकामा जित निकालेको हो ।
एमालेले जितेको बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा एमालेकै हरिप्रसाद पाठक, तिनाउ गाउँपालिकाको अध्यक्षमा प्रेम श्रेष्ठ र उपाध्यक्षमा नेपाली काँग्रेसका लालबहादुर थापा, माथागढी गाउँपालिकाको अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा एमालेकै विष्णुमायाँ लुङ्चे, पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नुनबहादुर थापा र उपाध्यक्षमा एमालेकै भागिरथी शर्मा भट्टराई, निस्दी गाउँपालिकाको अध्यक्षमा मुक्तबहादुर सारु र उपाध्यक्षमा एमालेकै तीरनकुमारी श्रेष्ठ तथा रम्भा गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा एमालेकै राधाकुमारी श्रेष्ठ निर्वाचित हुनु भएको हो ।
त्यस्तै काँग्रेसले जितेको तानसेन नगरपालिकाको मेयरमा सन्तोषलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली निर्वाचित हुनु भएको छ । सिंजाली रुख चिन्हबाट चुनाव लड्नु भएको थियो । काँग्रेसले जितेको अर्को रामपुर नगरपालिकाको मेयरमा रमणबहादुर थापा र उपमेयरमा काँग्रेसकै बालकुमारी थापा तथा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा रुक्मागत भट्टराई र उपाध्यक्षमा माओवादी केन्द्रका युवराज थापा निर्वाचित हुनु भएको हो ।
त्यस्तै माओवादी केन्द्रले जितेको एक मात्रै रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नारायणबहादुर कार्की र उपाध्यक्षमा नेपाली काँग्रेसकी कान्ता अधिकारी निर्वाचित हुनुभएको छ ।