सुनौलो फलाम दिएर सुन लिई फरार दुईजना रुपन्देहीको कञ्चनबाट पक्राउ

138

सुनौलो फलाम दिएर सुन लिई फरार दुईजना रुपन्देहीको कञ्चनबाट पक्राउ

रुपन्देहीको सैनामैनाबाट एक बृद्धलाई फलाम दिई हातमा लगाएको सुनका गहना लिई फरार हुने दुई जना रुपन्देहीकै कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् ।
हेर्दा सुनजस्तो देखिने रङ्ग लगाएको सुनौलो रङ्गका ९ वटा फलामको ढिक्का दिएर बुटवल १७ की ४० वर्षीया धन सोमैको साथबाट हातमा लगाउने ब्रासलेट (सुनको चेन) लिएर फरार भएका रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ९ धुसवाका ३७ वर्षीय काके उपनामका धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ का रुपन्देहीको कञ्चन १ हात्तिबजार बस्ने ३७ वर्षीय कोनविन भनिने देवबहादुर मगरलाई प्रहरीले गत शनिबार कञ्चनको हात्तिबजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताउनु भयो ।
प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पँहेलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान, विभीन्न कम्पनीका ४ सेट मोवाई, गोल्डेन रङ्ग सहितको १ थान बट्टा, पिडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोईन्ट सुनको डल्ला बरामद गरिएको प्रवक्ता पौडेलले बताउनु भयो ।
पुरानो बाँकी पैसा दिने बहाना बनाएर यहि जेठको ५ गते सैनामैना १० शितलापुर स्थित एक होटलमा बुटवल उपमहानगरपालिका वडा नं. १७ की सोमैलाई बोलाई पक्राउ परेका उनीहरुले त्यसैबेला सोमैलाई झुक्याएर सुनजस्तो देखिने ९ थान फलामको ढिक्का दिएर हातमा लगाएको सुनको ब्रासलेट (चेन) लिएर फरार भएका थिए ।
ठगि गरेर फरार रहेका व्यक्तिहरु कञ्चनको हात्तिबजारमा छन् भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु उपर ठगी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको पनि प्रवक्ता पौडेलले बताउनु भयो ।