भैरहवाको बालसुधार गृहमा प्रहरीमाथि आक्रमण

154

भैरहवाको बालसुधार गृहमा प्रहरीमाथि आक्रमण

बालसुधार गृहमा रहेका किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा रुपन्देहीको भैरहवा स्थित प्रदेश स्तरीय बालसुधार गृहमा प्रहरीमाथि आक्रमण भएको छ ।
बालगृहमा बस्ने १८ वर्ष मुनिका किशोरहरुको आक्रमणबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेल र उहाँका अंगरक्षक टोपबहादुर रखाल घाईते हुनु भएको छ ।
बालसुधार गृहमा रहेका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी गराउनु भएको छ । आक्रमणबाट घाईते प्रनाउ पौडेल र उहाँका अंगरक्षक रखाल दुबैको अवस्था सामान्य छ । आक्रोसित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन् ।
बालसुधार गृहमा क्षमता ६० जनाको छ । तर त्यहाँ १०६ जना राखिएको छ । बालसुधार गृहमा राखिएका किशोरहरुले अमर्यादित व्यबहार गर्ने भन्दै स्थानीयले मंगलबार (आजै) जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बालसुधारगृह स्थानान्तरण गर्ने माग सहित ज्ञापन पत्र बुझाएका थिए । यो बालसुधार गृह ४ वर्ष अगाडि सञ्चालनमा आएको हो । अपराधिक कृयाकलापमा संलग्न १८ वर्ष मुनिका बालबालिकालाई यो सुधार गृहमा राखिन्छ ।